वैवाहिक जीवन सम्बन्धी
1 अब यी कुराहरू तिमीहरूले लेखेको विषयमा छ: "पुरुषले स्त्रीलाई स्पर्श नगरेकै असल हो।" 2 तर पनि यौन अनैतिकता धेरै भइरहेको कारण हरेक पुरुषले आफ्नै पत्नीसँग यौन सम्बन्ध राखोस्, र हरेक स्त्रीले पनि आफ्नै पतिसँग यौन सम्बन्ध राखोस्। 3 पतिले आफ्नो पत्नीसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। यसरी नै पत्नीले पनि पतिसँगको वैवाहिक कर्तव्य पूरा गरोस्। 4 पत्नीको आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पतिको अधिकारमा हुन्छ। यसरी नै पतिको पनि आफ्नै शरीरमाथि अधिकार हुँदैन, तर पत्नीको अधिकारमा हुन्छ। 5 पति-पत्नीले आफ्नो यौन सम्बन्धमा एक-अर्कालाई इन्कार नगर। तर पारस्परिक सहमतिअनुसार र केही समय प्रार्थनाको लागि बाहेक अलग नहोओ; ताकि तिमीहरू प्रार्थनाको लागि समर्पित हुन सक। त्यसपछि फेरि तिमीहरू एकसाथ होओ; ताकि तिमीहरूका आत्मसंयमको अभावको कारण शैतानले तिमीहरूलाई परीक्षामा नपारोस्।