10 हन्ना मनमा गहिरो पीडासहित व्याकुल भएर रुँदै याहवेहलाई प्रार्थना गर्दैथिइन्। 11 अनि तिनले यसो भन्दै भाकल गरिन्, "हे सेनाहरूका याहवेह, यदि तपाईंले आफ्नी सेविकाको वेदना देखेर मलाई सम्झनुभयो; र तपाईंकी सेविकालाई नबिर्सी एउटा छोरा दिनुभयो भने म त्यसलाई त्यसको जीवनभरि याहवेहकहाँ अर्पण गर्नेछु, र त्यसको शिरमा कहिल्यै छुरा लाग्नेछैन।"
12 तिनले याहवेहसँग प्रार्थना गरिरहेको बेला एलीले तिनको ओठ चलिरहेका देखे। 13 हन्नाले आफ्नो मनमा प्रार्थना गरिरहेकी थिइन्; अनि तिनका ओठहरूचाहिँ चलिरहेका थिए। तर तिनको आवाज भने सुनिँदैनथ्यो। यसकारण एलीले तिनलाई मातेकी हो भनी ठाने। 14 अनि तिनलाई भने, "तिमी कतिबेर सम्म मातिरहन्छ्यौ? मद्यपानबाट होशमा आऊ।"
15 तब हन्नाले जवाफ दिइन्, "त्यसो होइन, मेरा मालिक। म अति गहिरो पीडामा परेकी स्त्री हुँ। मैले मद्य अथवा कुनै पनि मात लाग्ने कुरा पिएकी छैनँ। म त याहवेहको सामु आफ्नो हृदयको व्यथा पोखाइरहेकी छु। 16 तपाईंकी सेविकालाई एउटी खराब स्त्री नठान्नुहोस्। मेरो गहिरो पीडा र सन्तापको कारण म प्रार्थना गरिरहेकी छु।"
17 तब एलीले तिनलाई जवाफ दिए, "शान्तिसित जाऊ, र इस्राएलका परमेश्वरले तिमीले उहाँसित मागेको कुरा तिमीलाई देऊन्।"
18 तिनले भनिन्, "तपाईंकी सेविकाले तपाईंको दृष्टिमा निगाह पाओस्।" त्यसपछि तिनी आफ्नो बाटो लागिन्, र केही खानेकुरा खाइन्। अनि तिनी फेरि उदास भइनन्।
19 भोलिपल्ट बिहानै तिनीहरू उठे, र तिनीहरूले याहवेहको सामु आराधना गरे। अनि आफ्नो घर रामामा गए। एल्कानाले आफ्नी पत्नी हन्नासित सहवास गरे। अनि याहवेहले तिनलाई सम्झनुभयो। 20 यसरी हन्ना गर्भवती भईन्, र समय पुगेपछि उनले एउटा छोरा जन्माइन्। तिनले छोराको नाम शमूएल1:20 शमूएल अथवा याहवेहले सुन्नुभएको राखिन् र भनिन्, "किनकि मैले यसलाई याहवेहसँग मागेकी हुँ।"