10 यसकारण तिनीहरूले त्यसै गरे। तिनीहरूले भनेजस्तै दुई वटा गाईहरू ल्याएर गाडामा नारे; अनि तिनीहरूका बाछा-बाछीहरूलाई चाहिँ गोठमा थुनेर राखे। 11 तिनीहरूले याहवेहको सन्दुकलाई गाडामाथि राखे। सुनका मुसाहरू र गिर्खाहरूका नमुनाहरू भएको बाकसलाई पनि त्यससँगै राखे। 12 तब ती गाईहरू बाटो नछोडी सीधै बेथ-शेमेशतिर लागे। तिनीहरू दायाँ अथवा बायाँ लागेनन्। पलिश्तीहरूका शासकहरूले ती गाईहरूलाई बेथ-शेमेसको सिमानासम्मै पछ्याए।
13 अब बेथ-शेमेशका मानिसहरूचाहिँ बेँसीमा गहुँको फसल काटिरहेका थिए; अनि जब तिनीहरूले माथि हेरे, र त्यो सन्दुकलाई देखे, तब तिनीहरू त्यो देखेर औधी रमाए। 14 त्यो गाडा बेथ-शेमेसको यहोशूको खेतमा आइपुग्यो, र एउटा ठूलो चट्टानको छेउमा त्यहीँ अडियो। ती मानिसहरूले त्यस गाडाका काठहरू चिरे, र ती गाईहरूलाई चाहिँ याहवेहका निम्ति होमबलिको रूपमा बलि चढाए। 15 लेवीहरूले याहवेहको सन्दुकलाई ती सुनका सामग्रीहरू भएको बाकससितै ओराले। अनि तिनीहरूलाई ठूलो चट्टानमाथि राखे। त्यस दिन बेथ-शेमेशका मानिसहरूले याहवेहलाई होमबलि र बलिदानहरू चढाए।