अध्यक्षहरू र सेवकहरू
1 यो वचन विश्वासयोग्य छ: यदि कसैले अध्यक्ष3:1 यो शब्दलाई बिशप भनेर पनि अनुवाद गरिएको छ। हुने इच्छा गर्छ भने उसले असल कामको इच्छा गर्छ। 2 अब अध्यक्षचाहिँ निर्दोष, एउटै पत्नीका पति, आत्मसंयमी, विवेकी, आदरणीय, पाहुनासत्कार गर्ने, सिकाउन सक्ने हुनुपर्छ। 3 मद्यपान नगर्ने, झगडालु होइन, तर भद्र, शान्तिप्रिय, धनसम्पत्तिको लोभ नगर्ने हुनुपर्छ। 4 तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ। 5 यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र? 6 तिनी भर्खर विश्वासमा आएको व्यक्ति हुनुहुँदैन; नत्रता तिनी घमण्डले फुलेर शैतानले पाउने झैँ न्यायमा पर्नेछन्। 7 तिनले बाहिरकाहरूका बीचमा पनि असल नाम पाएको हुनुपर्छ, नत्रता तिनी निन्दित हुनेछन्, र शैतानको पासोमा पर्नेछन्।