शेबाकी रानी सोलोमनकहाँ भेट्न आएकी
1 जब शेबाकी रानीले सोलोमनको ख्यातिको विषयमा सुनिन्, तब तिनी उनलाई जाँच गर्नलाई कठिन प्रश्नहरू लिएर यरूशलेममा आइन्। तिनी विशाल लावालश्करको साथमा मसलाहरू, धेरै सुन र बहुमूल्य पत्थरहरू ऊँटहरूमा लदाएर सोलोमनकहाँ आइन्। तिनले सोलोमनसित आफ्ना मनका सबै प्रश्नहरू सोधिन्। 2 सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए। उनले शेबाकी रानीलाई बताउन नसक्ने एउटै प्रश्न पनि कठिन थिएन। 3 जब शेबाकी रानीले सोलोमनको बुद्धि जाँचेर सकिन्; अनि उनले बनाएको त्यो महल, 4 उनका टेबुलका भोजन, उनका अधिकृतहरूको बसाइ, हेरविचार गर्ने नोकरहरू र उनका विशिष्ट वस्त्र, आफ्ना विशिष्ट वस्त्रसहितका मद्य टक्राउनेहरू र उनले याहवेहको मन्दिरमा चढाएका होमबलिहरू देखिन्, तब तिनी छक्क परिन्।
5 तब तिनले राजालाई भनिन्, "मैले आफ्नो देशमा तपाईंको सफलता र बुद्धिको विषयमा सुनेको कुरा ठिक रहेछ। 6 तर आफैँ आएर आफ्नै आँखाले नदेखेसम्म मैले तिनीहरूले भनेका कुराहरू पत्याएकी थिइनँ। साँच्चै, मलाई त तपाईंको महानताको विषयमा आधा पनि बताइएको रहेनछ। मैले सुनेको कुराभन्दा तपाईं अझ बुद्धिमान् हुनुहुँदोरहेछ। 7 तपाईंका मानिसहरू कत्ति सुखी होलान्! तपाईंको सामु उभिएर तपाईंका बुद्धिका कुराहरू लगातार सुन्ने तपाईंका अधिकारीहरू कत्ति सुखी होलान्! 8 याहवेह तपाईंको परमेश्वरको प्रशंसा होस्, जसले तपाईंमा आनन्द लिनुभएर याहवेह तपाईंको परमेश्वरका निम्ति शासन गर्नलाई राजाको रूपमा आफ्नो सिंहासनमा बसाल्नुभएको छ। तपाईंको परमेश्वरले तिनीहरूलाई सदासर्वदा सम्हाल्न इस्राएललाई प्रेम गर्नुभयो। त्यसकारण न्याय र धार्मिकता अटल राख्नलाई उहाँले तपाईंलाई तिनीहरूमाथि राजा तुल्याउनुभएको छ।"