पूरीम उत्सवको स्थापना
20 मोर्दकैले यी घटनाहरूका विषयमा लेखे; अनि तिनले राजा अहासूरसका सबै प्रान्तहरूमा नजिक र टाढा सबै ठाउँमा रहेका यहूदीहरूलाई 21 वर्षेनी अदार महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई यहूदीहरूले उत्सव मनाउनुपर्छ भनेर पत्रहरू पठाए। 22 यहूदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएको दिनको रूपमा; अनि तिनीहरूको दुःखको शोकबाट आनन्द र विलापबाट उत्सवमा परिणत भएको महिनाको रूपमा मान्न स्थापित गरे। तिनीहरूले यी दिनहरूलाई भोज र आनन्दको दिनको रूपमा मनाउन र एक-आपसमा भोजनको सौगात पठाऊन् र गरिबहरूलाई उपहार देऊन् भनेर तिनीहरूलाई पत्र लेखे।
23 यसकारण मोर्दकैले लेखेअनुसार यहूदीहरूले गरे; अनि तिनीहरूले सुरु गरेको उत्सवलाई कायम राख्नलाई सहमत भए। 24 किनकि अगागी हम्मदाताका छोरा सारा यहूदीहरूका शत्रु हामानले यहूदीहरूलाई नाश गर्न भनी षड्यन्त्र गरेका थिए; अनि तिनीहरूको विनाश र सर्वनाशको निम्ति पूर (अर्थात् चिट्ठा) हालेका थिए। 25 तर जब त्यो षड्यन्त्र राजाको नजरमा पर्यो, तब राजाले यहूदीहरूको विरुद्धमा हामानले गरेको योजना त्यसकै टाउकोमाथि परोस्; अनि त्यो र त्यसका छोराहरूलाई फाँसीको काठमा झुण्ड्याइयोस् भनेर लिखित उर्दी जारी गरे। 26 (यसकारण यी दिनहरूलाई पूर शब्दबाट आएको हुनाले पूरीम भनिन्छ।) किनकि यस पत्रमा लेखिएका सबै कुराहरू, र तिनीहरूले जे-जे देखेका थिए; अनि तिनीहरूमाथि जे-जे घटना घटेका थिए, ती सबैको कारणले गर्दा 27 यहूदीहरू, तिनीहरूका सन्तान र आफूसित मिल्न आउने सबैले प्रत्येक वर्ष यी दुई दिनहरूलाई लेखिएअनुसार र तोकिएको समयअनुसार अवश्य पालन गर्नुपर्ने रीति स्थापित गर्ने जिम्मा यहूदीहरू आफैँले लिए। 28 यी दिनहरूलाई प्रत्येक पुस्ता, प्रत्येक परिवार, प्रत्येक प्रान्तमा र प्रत्येक सहरमा सम्झना गर्नुपर्छ र मनाउनुपर्छ। अनि पूरीमका यी दिनहरूलाई यहूदीहरूले चाड मनाउन कहिल्यै छाड्नुहुन्न, न त यी दिनहरूको सम्झना तिनीहरूका सन्तानहरूको बीचबाट नष्ट हुन दिनुहुन्छ।
29 यसकारण अबीहेलकी छोरी रानी एस्तरले यहूदी मोर्दकैसित मिलेर पूरीमको विषयमा यो दोस्रो पत्रलाई पुष्टि गर्न पूर्ण आधिकारिक रूपमा लेखिन्। 30 अनि मोर्दकैले अहासूरसका सबै 127 वटा राज्यहरूमा शान्ति र शुभकामनाका पत्रहरू पठाए। 31 पूरीमका यी दिनहरू यहूदी मोर्दकै र रानी एस्तरले आदेश दिएझैँ, तिनीहरूले त्यो उपवास र विलापको समय स्थापित गरेझैँ, ती आफ्नो र आफ्ना सन्तानहरूका निम्ति तोकिएको समयमा स्थापना गरेर मनाउनुपर्ने भन्ने बारेमा लेखिएको थियो। 32 एस्तरको आदेशले पूरीमका यी नियमहरूलाई पक्का गर्यो। अनि ती उर्दीहरू आधिकारिक रूपमा पुस्तकमा लेखेर राखियो।