6 चालीस दिनपछि नोआले आफूले जहाजमा बनाएको झ्याल खोले; 7 अनि एउटा कागलाई बाहिर पठाए; त्यो पृथ्वीबाट पानी नसुकेसम्म यताउता उडिरह्यो। 8 त्यसपछि तिनले पृथ्वीको सतहमा पानी घट्यो कि घटेन भनेर बुझ्न एउटा ढुकुरलाई बाहिर पठाए। 9 तर पृथ्वीको सतहमा पानी भएकोले त्यस ढुकुरले आफ्नो खुट्टा जमिनमा राख्ने ठाउँ नपाएर तिनीकहाँ जहाजमा नै फर्किआयो। नोआले आफ्नो हात बढाएर ढुकुरलाई पक्रेर जहाजमा आफूकहाँ ल्याए। 10 तिनले अरू सात दिन पर्खे; अनि त्यस ढुकुरलाई फेरि जहाजबाट बाहिर पठाए। 11 बेलुका जब त्यो ढुकुर तिनी भएको ठाउँमा फर्किआयो; त्यसको चुच्चोमा भर्खरै टिपेको भद्राक्षको पात थियो! तब पृथ्वीबाट पानी घटेर गएछ भनी नोआले थाहा पाए। 12 तिनले अझै अर्को सात दिन पर्खेर ढुकुरलाई फेरि बाहिर पठाए; तर यस पटक त्यो तिनीकहाँ फर्केर आएन।
Publicidade