23 येशूलाई क्रूसमा टाँगेपछि सिपाहीहरूले उहाँको बाहिरी वस्त्रहरूलाई लिएर हरेक सिपाहीका निम्ति एक-एक भाग हुने गरी चार भाग लगाए, उहाँको भित्री वस्त्र लिए जुन नसिलाएको माथिदेखि तलसम्म एउटै थियो।
24 तिनीहरूले आपसमा सल्लाह गरे, "यो वस्त्रचाहिँ नच्यातौँ, तर यो कसको भागमा पर्ने हो, चिट्ठा हालेर हेरौँ।"
धर्मशास्त्रमा लेखिएको कुरा यसरी पूरा भयो।
"तिनीहरूले मेरो बाहिरी वस्त्रहरू एक-आपसमा बाँडे,
र मेरो भित्री वस्त्रचाहिँ चिट्ठा हाले।"
यसकारण सिपाहीहरूले त्यसै गरे।
25 येशूको क्रूसको नजिकै उहाँकी आमा मरियम, उहाँकी आमाकी बहिनी, क्लोपासकी पत्नी मरियम र मरियम मग्दलिनी उभिरहेका थिए। 26 जब येशूले त्यहाँ आफ्नी आमालाई र उहाँले धेरै प्रेम गर्नुहुने चेलालाई नजिकैमा उभिरहेको देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो, "हे नारी! हेर्नुहोस्, तपाईंको छोरा!" 27 अनि चेलालाई उहाँले भन्नुभयो, "हेर, तिम्री आमा।" त्यस दिनदेखि त्यस चेलाले येशूकी आमालाई आफ्नै घरमा लगे।