येशूले जन्मैदेखिको दृष्टिविहीनलाई दृष्टि दिनुभएको
1 त्यहाँबाट जाँदै गर्नुहुँदा येशूले एउटा जन्मैदेखिको दृष्टिविहीनलाई देख्नुभयो। 2 उहाँका चेलाहरूले उहाँलाई सोधे, "गुरुज्यू, कसले पाप गर्यो, यो मानिसले कि यसका आमाबुबाले, जसको कारण यो दृष्टिविहीन जन्म्यो?"
3 येशूले भन्नुभयो, "न यसले, न त यसका आमाबुबाले पाप गरे, तर यस मानिसमा परमेश्वरको काम प्रकट होस् भन्ने हेतुले यसो भएको हो। 4 दिन छँदा नै हामीले मलाई पठाउनुहुनेको काम गर्नुपर्छ। रात आउँदैछ, जब कसैले काम गर्न सक्दैन। 5 म संसारमा रहुन्जेल संसारको ज्योति म नै हुँ।"
6 यी कुराहरू भनेर उहाँले भुइँमा थुक्नुभयो, र सो थुकले माटो मुछेर त्यस मानिसको आँखामा लगाइदिनुभयो। 7 उहाँले त्यसलाई भन्नुभयो, "जाऊ, सिलोआमको पोखरीमा गएर पखाल" (सिलोआमको अर्थ "पठाइएको" हो)। त्यो मानिस गयो र पखाल्यो, र देख्ने भएर घर फर्किआयो।
8 त्यसका छिमेकीहरू र त्यसलाई भीख मागिरहेको देख्ने अरूहरूले आपसमा सोध्न लागे, "बसेर भीख माग्ने मानिस के यही होइन र?" 9 कतिले ऊ त्यही मानिस हो भन्ने दाबी गरे।
अरूहरूले भने, "होइन, तर यो त्योजस्तै देखिन्छ।"
तर ऊ आफैँले भन्यो, "म त्यही मानिस हुँ।"
10 तिनीहरूले त्यसलाई सोधे, "तेरा आँखा कसरी खोलिए त?"
11 त्यसले जवाफ दियो, "येशू भन्ने एक जना मानिसले माटो मुछेर मेरा आँखामा लगाइदिनुभयो। उहाँले मलाई सिलोआममा गएर पखाल्न अह्राउनुभयो। तब म गएँ, र पखालेँ, र म देख्न सक्ने भएँ।"
12 तिनीहरूले त्यसलाई सोधे, "ती मानिस कहाँ छन् त?"
त्यसले भन्यो, "मलाई थाहा छैन।"