1 इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो।
2 तब याहवेहले यहोशूलाई भन्नुभयो, "हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु। 3 सबै हतियारधारी मानिसहरूसँग त्यस सहरलाई दिनमा एक चोटि फन्को मार्नू। छ दिनसम्म तिमीहरूले यसै गर्नू। 4 सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्। 5 जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।"
6 यसकारण नूनका छोरा यहोशूले पुजारीहरूलाई बोलाएर तिनीहरूलाई भने, "याहवेहको करारको सन्दुक लिएर सात जना पुजारीहरू सन्दुकको अगि-अगि तुरही बोकेर हिँड्नू।" 7 अनि तिनले योद्धाहरूलाई आदेश दिए, "अगि बढ, सहरको चारैतिर हिँड, र हतियारधारी मानिसहरूचाहिँ याहवेहको सन्दुकको अगि-अगि हिँडून्।"