फरिसी र कर उठाउनेको दृष्टान्त
9 आफ्नै धार्मिकतामा ढुक्क भई भरोसा राखेर अरूहरूलाई तुच्छ दृष्टिले हेर्नेहरू कसै कसैलाई येशूले यो दृष्टान्त भन्नुभयो: 10 "दुई जना मानिस मन्दिरमा प्रार्थना गर्न गए। एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने। 11 फरिसी उभियो र आफ्नै विषयमा यसरी प्रार्थना गर्यो: ‘हे परमेश्वर, म तपाईंलाई धन्यवाद दिन्छु, किनकि म अरू मानिसहरूजस्तो छली, दुष्ट, व्यभिचारी, अथवा यही कर उठाउने मान्छेजस्तो पनि म छैनँ। 12 म हप्तामा दुईपल्ट उपवास बस्दछु; र आफूले कमाएका सबै थोकहरूबाट दशांश दिन्छु।’
13 "तर त्यो कर उठाउने मानिस टाढै उभियो। त्यसले स्वर्गतिर हेर्ने आँट पनि नगरी छाती पिट्दै यसो भन्यो, ‘हे परमेश्वर, ममाथि दया गर्नुहोस्, म पापी हुँ।’
14 "म तिमीहरूलाई भन्दछु, त्यो फरिसी होइन, तर कर उठाउने मानिस परमेश्वरको सामु धर्मी ठहरिएर घर फर्कियो; किनकि आफूलाई उच्च तुल्याउने नम्र बनाइनेछन् र आफूलाई नम्र बनाउने उच्च पारिनेछन्।"