यरूशलेममा येशूको विजयी प्रवेश
28 येशूले यी कुराहरू भनिसकेपछि उहाँ यरूशलेमतर्फ जानलाई अगि बढ्नुभयो। 29 जब उहाँ जैतुन डाँडा भनिने पहाडमा बेथफागे र बेथानीको नजिक आइपुग्नुभयो, तब उहाँले आफ्ना दुई जना चेलाहरूलाई यसो भनेर पठाउनुभयो, 30 "तिमीहरूका सामुको गाउँमा जाओ, र जब तिमीहरू त्यहाँ प्रवेश गर्छौ, तिमीहरूले त्यहाँ एउटा गधाको बछेडोलाई बाँधिराखेको भेट्टाउनेछौ; जसमाथि अझसम्म कोही सवार भएको छैन। त्यसलाई खोलेर यहाँ ल्याओ। 31 यदि कसैले तिमीहरूलाई ‘त्यसलाई किन फुकाउँदैछौ?’ भनी सोध्यो भने, ‘प्रभुलाई यो चाहिएको छ’ भनेर भन्नू।"
32 ती अगि-अगि पठाइएकाहरू गए, र उहाँले तिनीहरूलाई जस्तो भन्नुभएको थियो, त्यस्तै भेट्टाए। 33 तिनीहरूले त्यो बछेडालाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले तिनीहरूलाई सोधे, "तिमीहरूले त्यो बछेडालाई किन फुकाउँदैछौ?"
34 तिनीहरूले जवाफ दिए, "प्रभुलाई यो चाहिएको छ।"
35 तिनीहरूले त्यसलाई येशूकहाँ ल्याए; अनि आफ्ना लुगाहरू त्यस गधामाथि राखे, र येशूलाई त्यसमाथि बसाले। 36 उहाँ अगि बढ्दै गर्नुहुँदा मानिसहरूले आ-आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए।
37 उहाँ जैतुन डाँडाको ओह्रालो सुरु हुने ठाउँको नजिक आइपुग्नुहुँदा, चेलाहरूका सम्पूर्ण भीड, आफैँले देखेका सबै अचम्मका कामहरूका लागि आनन्दसाथ चर्को सोरमा परमेश्वरको प्रशंसा गर्न लागे:
38 "प्रभुको नाममा आउनुहुने राजा धन्य हुनुहुन्छ!"19:38 भजन 118:26
"स्वर्गमा शान्ति र सर्वोच्चमा महिमा होस्।"
39 भीडमध्येका कोही फरिसीहरूले येशूलाई भने, "गुरुज्यू, तपाईंका चेलाहरूलाई हप्काउनुहोस्!"
40 उहाँले भन्नुभयो, "म तिमीहरूलाई भन्दछु, यिनीहरू चुप लागे भने ढुङ्गाहरू कराएर उठ्नेछन्।"