6 अर्को शब्बाथको दिन उहाँ सभाघरमा जानुभयो र त्यहाँ शिक्षा दिँदैहुनुहुन्थ्यो। त्यहाँ एक जना दाहिने हात सुकेर नचल्ने भएको मानिस पनि थियो। 7 फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई दोष लगाउनको लागि निहुँ खोजिरहेका थिए। त्यसकारण कतै उहाँले शब्बाथ दिनमा पनि निको पार्ने काम गर्नुहुन्छ कि भनी चियो गरिरहेका थिए। 8 तर तिनीहरूले के विचार गर्दैछन् भनी येशूले थाहा पाउनुभयो र हात सुकेको त्यस मानिसलाई भन्नुभयो, "उठ र सबैको सामु खडा होऊ।" अनि त्यो उठ्यो र खडा भयो।
9 त्यसपछि येशूले तिनीहरूलाई भन्नुभयो, "म तिमीहरूलाई सोध्छु, शब्बाथको दिनमा के गर्नु उचित हुन्छ: असल गर्नु वा खराब गर्नु, जीवन बचाउनु कि नष्ट पार्नु?"
10 उहाँले चारैतिर ती सबैलाई हेर्दै त्यस मानिसलाई भन्नुभयो, "तिम्रो हात सीधा पार।" त्यसले त्यो सीधा पार्यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।