येशूले आँधी शान्त पार्नुभएको
22 एक दिन येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, "हामी तालको पारिपट्टि जाऔँ।" अनि उहाँहरू डुङ्गामा चढेर जानुभयो। 23 तिनीहरू डुङ्गामा जाँदै गर्दा येशू निदाउनुभयो। त्यस तालमा ठूलो आँधी चल्न लाग्यो जसले गर्दा डुङ्गा पानीले भरिन थाल्यो र तिनीहरू ठूलो खतरामा परे।
24 तब उहाँकहाँ गएर चेलाहरूले यसो भन्दै उहाँलाई बिउँझाए, "गुरुज्यू, गुरुज्यू, हामी त डुब्नै लाग्यौँ!"
तब उहाँ उठेर बतास र उर्लंदो पानीको छाललाई हप्काउनुभयो। आँधी थामियो र सबै शान्त भयो। 25 उहाँले चेलाहरूलाई भन्नुभयो, "तिमीहरूको विश्वास खोइ?"
डर र आश्चर्यमा परी तिनीहरूले एक-आपसमा भने, "उहाँ को हुनुहुन्छ? उहाँले आँधी र पानीलाई समेत आज्ञा गर्नुहुन्छ, र तिनीहरूले उहाँको आज्ञा मान्दा रहेछन्।"