येशूले भूतआत्मा लागेको मानिसलाई निको पार्नुभएको
1 उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो। 2 जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो। 3 त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो। 4 किनभने धेरैपल्ट त्यसलाई हातखुट्टामा साङ्लोले बाँधिएको थियो; तर त्यसले साङ्लाहरू चुडाउँथ्यो, र खुट्टाका फलामहरू भाँच्थ्यो। त्यसलाई अधीनमा राख्न सक्ने बल कसैसँग थिएन। 5 त्यो दिनरात चिहानहरूमा र पहाडहरूमा रहन्थ्यो; चिच्याउँथ्यो र आफैँलाई ढुङ्गाले काट्ने गर्दथ्यो।
6 जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्यो। 7 त्यसले चर्को सोरले कराएर भन्यो, "हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईं मसित के चाहनुहुन्छ? परमेश्वरको नाममा बिन्ती गर्दछु, मलाई नसताउनुहोस्!" 8 किनकि येशूले त्यसलाई भन्नुभएको थियो, "हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!"
9 तब येशूले त्यसलाई सोध्नुभयो, "तेरो नाम के हो?"
त्यसले जवाफ दियो, "मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।" 10 अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्यो।
11 त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। 12 ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, "हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्न दिनुहोस्।" 13 उहाँले तिनीहरूलाई अनुमति दिनुभयो; अनि अशुद्ध आत्माहरू निस्केर सुँगुरहरूभित्र पसे। करिब दुई हजार सुँगुरको बगाल भिरालो किनारबाट हुरमुरिँदै गएर तालमा खसेर डुबेर मरे।
14 ती सुँगुर चराउनेहरू त्यहाँबाट भागे। सहर र गाउँतिर गएर त्यो खबर सुनाइदिए, तब मानिसहरू के भएको थियो, सो हेर्न गए। 15 जब तिनीहरू येशूकहाँ आए, तब तिनीहरूले दुष्ट आत्माको फौजले भरिएको त्यस मानिसलाई लुगा पहिरेको र ठिक भएर त्यहाँ बसिरहेको देखे; अनि तिनीहरू डराए। 16 जतिले यो देखेका थिए, तिनीहरूले त्यस दुष्ट आत्मा लागेको मानिसलाई के भएको थियो, र सुँगुरहरूको विषयमा पनि मानिसहरूलाई भनिदिए। 17 तब मानिसहरूले येशूलाई त्यस क्षेत्रबाट गइहाल्नुहोस् भनेर बिन्ती गरे।
18 येशू डुङ्गामा चढ्न लाग्नुहुँदा त्यो दुष्ट आत्माले सताएको मानिस आएर उहाँसँगै जान पाऊँ भनी बिन्ती गर्यो। 19 तर येशूले मान्नुभएन, बरु यसो भन्नुभयो, "घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।" 20 त्यसपछि त्यो मानिस गइहाल्यो र येशूले उसका लागि के गर्नुभयो, त्यो डेकापोलिसमा5:20 अथवा दश सहरहरूमा भन्न थाल्यो; अनि सबै मानिसहरू छक्क परे।