17 तब भीडबाट एक जना मानिसले जवाफ दियो, "हे गुरु, मैले तपाईंकहाँ मेरो छोरा लिएर आएको छु, जसलाई दुष्ट आत्मा लागेको छ र बोल्न नसक्ने पारिदिएको छ। 18 जब त्यसले उसलाई पक्रन्छ, उसलाई भुइँमा पछारिहाल्छ; उसले मुखबाट फिँज काढ्छ, दाह्रा किट्छ र अरट्ठै पर्छ। मैले तपाईंका चेलाहरूलाई यस आत्मालाई धपाइदिनुहोस् भनी बिन्ती गरेँ, तर तिनीहरूले सकेनन्।"
19 येशूले जवाफ दिनुभयो, "ए अविश्वासी पुस्ता, म कहिलेसम्म तिमीहरूका साथमा रहुँला र तिमीहरूलाई सहूँ? त्यस केटोलाई मकहाँ ल्याओ।"
20 यसकारण तिनीहरूले त्यसलाई ल्याए। जब त्यस आत्माले येशूलाई देख्यो, तब त्यसले तुरुन्तै त्यस केटोलाई लछारपछार पार्यो। त्यो भुइँमा लडीबुडी गर्न थाल्यो; अनि मुखबाट फिँज काढ्न थाल्यो।
21 येशूले केटाको बुबालाई सोध्नुभयो, "यसलाई कहिलेदेखि यस्तो भइरहेको छ?"
तिनले जवाफ दिए, "सानैदेखि। 22 त्यसले यसलाई मार्न घरी-घरी पानीमा अथवा आगोमा फ्याँकिदिन्छ। यदि तपाईंले केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गरेर सहायता गरिदिनुहोस्।"
23 येशूले भन्नुभयो, "यदि तपाईंले ‘सक्नुहुन्छ भने’ भन्नुको अर्थ के हो? विश्वास गर्नेका लागि हरेक कुरा सम्भव हुन्छ।"
24 तुरुन्तै त्यस केटाको बुबाले भने, "म विश्वास गर्दछु; मेरो अविश्वासमाथि विजय पाउन मलाई सहायता गर्नुहोस्!"
25 जब येशूले त्यस ठाउँमा एउटा भीड दौडेर आइरहेका देख्नुभयो, तब उहाँले त्यस अशुद्ध आत्मालाई यसो भनेर हकार्नुभयो, "तँ बहिरो र लाटो आत्मा, तँलाई म आज्ञा दिन्छु, त्यसबाट बाहिर आइज र त्यसमा फेरि कहिल्यै नपस्।"
26 तब त्यो आत्मा चिच्याएर त्यसलाई जोडसित पछारेर बाहिर निस्क्यो। त्यो केटो मरेजस्तै भयो। यतिसम्म कि धेरै जनाले "त्यो त मरेछ" भन्ठाने। 27 तर येशूले त्यसको हात समातेर त्यसलाई आफ्नो खुट्टामा उभ्याउनुभयो, र त्यो ठिङ्ग उभियो।