32 येशूले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर भन्नुभयो, "म यी मानिसहरूलाई देखेर दयाले भरिएको छु; तिनीहरू हामीसित तीन दिनदेखि छन्, र तिनीहरूसित खानेकुरा केही छैन। म यिनीहरूलाई भोकै पठाउन चाहन्नँ, नत्रता यिनीहरू बाटैमा मूर्च्छा पर्नेछन्।"
33 उहाँका चेलाहरूले जवाफ दिए, "यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?"
34 येशूले सोध्नुभयो, "तिमीहरूसित कति वटा रोटी छन्?"
तिनीहरूले जवाफ दिए "सात वटा र स-साना केही माछाहरू।"
35 उहाँले भीडलाई भुइँमा बस्न लाउनुभयो। 36 तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए। 37 तिनीहरू सबैले खाए, र अघाए। त्यसपछि चेलाहरूले उब्रेका टुक्राहरू सात डालाभरि बटुले। 38 खानेहरूको संख्या स्त्रीहरू र केटाकेटीहरूबाहेक, करिब चार हजार पुरुषहरू थिए।