कपटीपन विरुद्धमा चेतावनी
1 तब येशूले भीडहरू र आफ्ना चेलाहरूलाई भन्नुभयो: 2 "व्यवस्थाका शिक्षकहरू र फरिसीहरू मोशाको आसनमा बस्छन्। 3 यसकारण तिनीहरूले भनेका हरेक कुरा तिमीहरूले मान र गर, तर तिनीहरूले जे गर्छन्, त्योचाहिँ नगर। किनकि तिनीहरूले जे प्रचार गर्छन्, त्यो अभ्यास गर्दैनन्। 4 तिनीहरूले बोक्नै नसक्ने गह्रौँ भारी बाँधेर मानिसहरूका काँधमा राखिदिन्छन्, तर तिनीहरू आफैँचाहिँ ती उचाल्नलाई आफ्नो एक औँलासमेत चलाउँदैनन्।
5 "तिनीहरूले प्रत्येक कुरा मानिसहरूले देखून् भनेर गर्छन्। तिनीहरूले आफ्ना धर्मशास्त्रका पदहरू लेखेको पत्रलाई चौडा बनाउँछन् र आफ्ना वस्त्रका झुम्काहरू लामा बनाउँछन्। 6 तिनीहरू भोजमा आदरको स्थान मन पराउँछन् र सभाघरहरूमा सबैभन्दा प्रमुख आसनहरू लिन मन पराउँछन्। 7 तिनीहरू बजारहरूमा आदरपूर्ण अभिवादन पाउन र मानिसहरूले तिनीहरूलाई ‘गुरुज्यू’ भनेर बोलाएको मन पराउँछन्।