येशूको परीक्षा
1 तब येशू शैतानद्वारा परीक्षित हुनलाई पवित्र आत्माद्वारा उजाडस्थानमा लगिनुभयो। 2 अनि चालीस दिन र चालीस रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। 3 परीक्षा गर्नेले उहाँकहाँ आएर यसो भन्यो, "यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यी ढुङ्गाहरूलाई रोटी भइजा भनी आज्ञा दिनुहोस्।"
4 येशूले जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो लेखिएको छ: ‘मानिस रोटीले मात्र बाँच्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्दछ।’4:4 व्यव 8:3"
5 तब शैतानले उहाँलाई पवित्र सहरमा लग्यो, र उहाँलाई मन्दिरको सबैभन्दा अग्लो ठाउँमा उभ्यायो। 6 अनि उहाँलाई भन्यो, "यदि तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्; किनकि धर्मशास्त्रमा यसरी लेखिएको छ:
" ‘उहाँले तपाईंको सम्बन्धमा आफ्ना स्वर्गदूतहरूलाई आज्ञा गर्नुहुनेछ,
अनि तिनीहरूले तपाईंलाई तिनीहरूका हातहरूमा उचाल्नेछन्;
ताकि तपाईंको खुट्टा ढुङ्गामाथि नबजारियोस्।’4:6 भजन 91:11, 12"
7 येशूले त्यसलाई जवाफ दिनुभयो, "धर्मशास्त्रमा यसो पनि लेखिएको छ: ‘तैँले प्रभु आफ्ना परमेश्वरको परीक्षा नगर्नू।’4:7 व्यव 6:16"
8 फेरि शैतानले उहाँलाई एउटा अति अग्लो पहाडमाथि लगेर संसारका सबै राज्यहरू र तिनीहरूका वैभव देखायो, 9 अनि उहाँलाई भन्यो, "यदि तपाईंले घोप्टो परेर मलाई दण्डवत् गर्नुभयो भने म यी सबै थोक तपाईंलाई दिनेछु।"
10 त्यसपछि येशूले त्यसलाई भन्नुभयो, "हे शैतान, तँ मबाट टाढा भइजा! किनकि यसरी लेखिएको छ: ‘तैँले आफ्ना प्रभु परमेश्वरलाई दण्डवत् गर्नू, र उहाँको मात्र सेवा गर्नू।’ "4:10 व्यव 6:13
11 तब शैतान उहाँलाई छोडेर गइहाल्यो। अनि स्वर्गदूतहरू आएर उहाँको सेवाटहल गरे।