अरूको न्याय नगर
1 "न्याय नगर, नत्रता तिम्रो पनि न्याय हुनेछ। 2 किनकि तिमीले जसरी अरूको न्याय गर्दछौ, त्यसरी नै तिम्रो पनि न्याय हुनेछ; जुन नापले तिमी नाप्दछौ, तिमी पनि त्यही किसिमले नापिनेछौ।
3 "तिमीले किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ, तर तिम्रो आफ्नै आँखाभित्र भएको मुढोलाई चाहिँ ध्यानै दिँदैनौ? 4 जब तिम्रो आँखाभित्र मुढो रहिरहेको हुन्छ, तब तिमीले आफ्नो भाइलाई कसरी ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को म निकालिदिन्छु’ भन्न सक्छौ? 5 ए कपटी, पहिले आफ्नै आँखाबाट मुढो निकाल। अनि पो आफ्नो भाइको आँखाबाट छेस्को निकाल्नलाई तिमीले छर्लङ्ग देख्नेछौ।