येशूद्वारा मत्तीको बोलावट
9 येशू जब त्यहाँबाट अगि बढ्नुभयो, तब उहाँले मत्ती नाम भएका एक जना मानिसलाई कर उठाउनेहरूको अड्डामा बसिरहेका देख्नुभयो। उहाँले तिनलाई भन्नुभयो, "मेरो पछि लाग।" अनि तिनी उठे, र उहाँको पछि लागे।
10 येशू मत्तीको घरमा भोजन गरिरहनुहुँदा धेरै जना कर उठाउनेहरू र पापीहरू आए, र उहाँ र उहाँका चेलाहरूसित खाए। 11 जब फरिसीहरूले यो देखे, तब तिनीहरूले उहाँका चेलाहरूलाई सोधे, "तिमीहरूका गुरु किन कर उठाउनेहरू र पापीहरूसित खान्छन्?"
12 यो सुनेर येशूले भन्नुभयो, "निरोगीलाई त चिकित्सकको आवश्यकता पर्दैन, तर रोगीहरूलाई मात्र पर्छ। 13 अब जाऊ, र यसको अर्थ के रहेछ, सिक: ‘म बलिदान होइन, तर दया चाहन्छु।’9:13 होशे 6:6 किनकि म धर्मीहरूलाई होइन; तर पापीहरूलाई बोलाउन आएको हुँ।"