14 यसबाहेक, राजा अर्तसास्तको शासनकालको बीसौँ वर्षमा म यहूदामा तिनीहरूको राज्यपाल नियुक्त भएदेखि उहाँको बत्तीसौँ वर्ष, अर्थात् बाह्र वर्षसम्म अधिकृत भएर सेवा गर्दा, न त मैले, न त मेरा दाजुभाइहरूले राज्यपालको निम्ति दिइने भोजन खायौँ। 15 तर मभन्दा पहिलेका राज्यपालहरूले मानिसहरूमाथि ठूलो बोझ लगाएका थिए। अनि भोजन र दाखमद्यको साथमा तिनीहरूबाट चार सय शेकेल5:15 लगभग 460 ग्राम चाँदी लिए। तिनीहरूका सहायकहरूले पनि मानिसहरूमाथि अधिकार जमाए। तर परमेश्वरप्रतिको डरको कारणले गर्दा मैले त्यसो गरिनँ। 16 त्यसको सट्टा मैले आफूलाई यस पर्खालको काममा लगाइरहेँ। मेरा सबै मानिसहरू कामको निम्ति त्यहाँ भेला भए; हामीले कुनै पनि जग्गाजमिन किनेनौँ।
17 यसबाहेक, मसँग मेरो टेबुलमा एक सय पचास जना यहूदीहरू र अधिकृतहरूले अनि वरिपरिका देशहरूबाट आउने मानिसहरूले खाने गर्थे। 18 प्रत्येक दिन मेरा निम्ति एउटा गोरु, छ वटा असल भेडाहरू र केही कुखुराहरू तयार गरिन्थे। प्रत्येक दश दिनमा सबै प्रकारका दाखमद्यहरू प्रशस्त मात्रामा जुटाइन्थ्यो। यी सबै कुरा हुँदा पनि मैले राज्यपालका निम्ति तोकिएको भोजन कहिल्यै मागिनँ; किनकि यी मानिसहरूमा ठूलो भार परेको थियो।
19 हे मेरा परमेश्वर, मैले यी मानिसहरूका निम्ति गरेका सबै भलाइका कामको निम्ति मलाई अनुग्रह सहित सम्झना गर्नुहोस्।