33 यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए। 34 जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो।
35 जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे,
"हे याहवेह, उठ्नुहोस्!
तपाईंका शत्रुहरू छरपस्ट होऊन्;
तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!"
36 जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे,
"हे याहवेह,
इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!"