8 अनि बाटोमा नाओमीले आफ्ना बुहारीहरूलाई भनिन्, "तिमीहरू आ-आफ्नी आमाका घरमा फर्केर जाओ। जसरी तिमीहरूले आफ्ना मृत पतिहरू र मलाई दया देखायौ, त्यसरी नै याहवेहले पनि तिमीहरूसित दया देखाऊन्। 9 याहवेहले तिमीहरूलाई तिमीहरूका भविष्यमा हुने आ-आफ्ना पतिहरूका घरमा सुरक्षा देऊन्।"
अनि तिनले उनीहरूलाई म्वाइँ खाइन्, र तिनीहरू डाँको छोडेर रोए। 10 अनि तिनलाई भने, "हामी तपाईंसित तपाईंकै मानिसहरूकहाँ फर्किजानेछौँ।"
11 तर नाओमीले भनिन्, "मेरा छोरीहरू हो, घर फर्क। तिमीहरू मसँग किन आउँछौ? तिमीहरूका पतिहरूका लागि के म अझै छोराहरू जन्माउन सक्छु र? 12 मेरा छोरीहरू हो, घर फर्क। अर्को पति पाउनलाई म धेरै बूढी भइसकेकी छु। यद्यपि अझै आशा छ भनी मैले सोचेँ र आज राति नै पति पाएँ, र छोराहरू जन्माएँ भने तापनि 13 तिनीहरू बढुन्जेलसम्म तिमीहरूले पर्खन्छौ र? उनीहरूका निम्ति तिमीहरू अविवाहित नै रहन्छौ? त्यसो होइन मेरा छोरीहरू हो! तिमीहरूको भन्दा मेरो हृदयको दुःख गहिरो छ; किनकि याहवेहको हात मेरो विरुद्धमा उठेको छ।"
14 यसमा तिनीहरू फेरि डाँको छोडेर रोए। तब ओर्पाले सासूलाई बिदाइको चुम्बन गरिन्; तर रूथले भने नाओमीलाई छोडिनन्।