14 स्त्रीहरूले नाओमीलाई भने, "याहवेहको प्रशंसा होस्, जसले आज तपाईंलाई एउटा छुटाउने नातेदारविना छोड्नुभएन। इस्राएलभरि तिनी प्रसिद्ध होऊन्। 15 ती बालकले तपाईंको जीवनलाई नयाँ जीवन दिनेछन् र बुढेसकालमा तपाईंको पालनपोषण गर्नेछन्। किनकि तपाईंकी बुहारी, जसले तपाईंलाई प्रेम गर्छिन्, तिनी तपाईंको निम्ति सात भाइ छोराहरूभन्दा असल छिन्। तिनले यस बालकलाई जन्म दिएकी छिन्।"
16 त्यसपछि नाओमीले बालकलाई लिएर काखमा राखिन् र त्यसको स्याहार-सुसार गरिन्। 17 त्यहाँ बस्ने स्त्रीहरूले भने, "नाओमीको एउटा छोरा छ।" अनि तिनीहरूले त्यसको नाम ओबेद राखे। तिनी नै यिशैका पिता थिए। यिशैचाहिँ दावीदका पिता थिए।