1 हे पत्नीहरू हो, यसरी नै तिमीहरू आफ्ना पतिहरूका अधीनमा बस, र यदि तिनीहरूमध्ये कसैले वचनमाथि विश्वास गर्दैन भने तापनि तिनीहरूका पत्नीहरूको आचरणले गर्दा वचनविना नै, 2 तिमीहरूको जीवनको शुद्धता र आदर देखेर तिनीहरूलाई जितियोस्। 3 तिमीहरूको सौन्दर्य केशका सिँगार, सुनका गहना तथा महङ्गा कपडाहरूजस्ता बाहिरी सिँगारले नहोस्। 4 तर तिमीहरूको भित्री व्यक्तित्वमा नम्र र शान्त आत्माको अविनाशी सौन्दर्य होस्, जो परमेश्वरको दृष्टिमा अति मूल्यवान् छ। 5 किनकि परमेश्वरमाथि आशा राख्ने प्राचीन कालका पवित्र महिलाहरूले यसै गरी आफूलाई सुन्दर बनाउँथे। तिनीहरू आफ्ना पतिहरूका अधीनमा रहन्थे; 6 साराजस्तै, जसले अब्राहामको आज्ञापालन गर्थिन् र तिनलाई आफ्नो "मालिक" भन्थिन्। यदि तिमीहरू असल काम गर्छौ र डराउँदैनौ भने तिमीहरू यिनैका छोरीहरू हौ।