Publicidade

Amós 4

इस्राएल परमेश्‍वरतिर फर्केको छैन

1 हे सामरिया पर्वतमाथि बस्‍ने बाशानका गाईहरू हो, यो वचन सुन!

हे स्त्रीहरू हो, जसले गरिबहरूलाई थिचोमिचो गर्दछौ र खाँचोमा परेकाहरूलाई सताउँदछौ;

अनि आफ्ना पतिहरूलाई भन्दछौ, "हाम्रो निम्ति केही पेय पदार्थ ल्याइदिनुहोस्!"

2 प्रभु याहवेहले आफ्नो पवित्रताको शपथ खानुभएको छ:

"अवश्य नै समय आउनेछ,

जब तिमीहरू अङ्कुसेले तानेर निकालिनेछौ,

र बाँकी रहेका तिमीहरू पनि बल्छीले समातेर लगिनेछौ।

3 तिमीहरू हरेक पर्खालका धाँदाहरूबाट

सीधै बाहिर निस्कनेछौ।

तिमीहरू हर्मोनतिर फ्याँकिनेछौ,"

याहवेह घोषणा गर्नुहुन्छ।

4 "बेथेलमा जाओ र पाप गर;

गिलगालमा जाओ र अझ बढी पाप गर।

हरेक बिहान तिमीहरूका बलिदानहरू ल्याओ!

हरेक तीन वर्षमा तिमीहरूका दशांश भेटी पनि ल्याओ।

5 खमिर हालेको रोटीलाई धन्यवादको भेटीको रूपमा चढाओ,

र स्वेच्छा भेटीहरूका निम्ति धाक लगाओ;

अर्थात् हे इस्राएलीहरू हो, तिनीहरूका निम्ति घमण्ड गर;

किनकि तिमीहरू यसै गर्न रुचाउँछौ,"

प्रभु याहवेह घोषणा गर्नुहुन्छ।

6 "मैले हरेक सहरमा तिमीहरूलाई भोको पेट राखेँ,

र हरेक नगरमा रोटीको अभाव गरिदिएँ;

तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,"

याहवेह घोषणा गर्नुहुन्छ।

7 "फसलको समय अझै तीन महिना बाँकी रहँदै

मैले तिमीहरूका निम्ति वर्षा पनि रोकिदिएँ।

मैले एउटा सहरमा वर्षाको पानी पठाएँ,

तर अर्को सहरमा रोकिदिएँ।

एउटा खेतमा पानी पर्‍यो;

तर अर्को खेतमाथि परेन, त्यो सुक्यो।

8 मानिसहरू पानी पिउनका निम्ति सहर-सहरमा धरमरिँदै हिँडे,

तर प्रशस्त पिउनलाई पानी पाएनन्,

तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,"

याहवेह घोषणा गर्नुहुन्छ।

9 "धेरै पटक मैले तिमीहरूका बगैँचाहरू र दाखबारीहरूलाई प्रहार गरेँ;

मैले तिनीहरूलाई रोग र ढुसीले नाश पारेँ।

सलहहरूले तिमीहरूका नेभारा र जैतुनका रूखहरूलाई सखाप पारिदिए,

तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,"

याहवेह घोषणा गर्नुहुन्छ।

10 "मैले इजिप्टमा पठाएझैँ

तिमीहरूका बीचमा विपत्तिहरू पठाएँ।

मैले तिमीहरूका जवान मानिसहरूलाई तरवारले मारेँ

र तिमीहरूका घोडाहरूसमेत कब्जा गरेँ।

मैले तिमीहरूका छाउनी मृतक शरीरका दुर्गन्धले भरिदिएँ,

तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,"

याहवेह घोषणा गर्नुहुन्छ।

11 "मैले सदोम र गमोरालाई ध्वस्त पारेजस्तै गरी

तिमीहरूमध्ये कतिलाई ध्वस्त पारेको छु।

तिमीहरू जल्दैगरेको आगोबाट निकालिएको अगुल्टोजस्तै थियौ,

तापनि तिमीहरू मकहाँ फर्केर आएनौ,"

याहवेह घोषणा गर्नुहुन्छ।

12 "यसकारण हे इस्राएलीहरू हो, म तिमीहरूलाई यसो गर्नेछु;

किनकि मैले तिमीहरूलाई यसो गर्न लागेको हुनाले,

तिमीहरू आफ्ना परमेश्‍वरलाई भेट्न तयार होओ।"

13 जसले पर्वतहरू बनाउनुहुन्छ,

जसले बतासलाई सृजना गर्नुहुन्छ;

अनि उहाँले आफ्ना विचारहरू मानिस जातिलाई प्रकट गर्नुहुन्छ;

उहाँले नै बिहानीको प्रभातलाई अन्धकारमा परिवर्तन गर्नुहुन्छ,

र पृथ्वीका अग्ला-अग्ला स्थानहरूमा कुल्चनुहुन्छ;

उहाँको नाम याहवेह सेनाहरूका परमेश्‍वर हो।

Veja também

Publicidade
Amós
Ver todos os capítulos de Amós
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-