Publicidade

Amós 3

इस्राएलको विरुद्धमा साक्षीहरू बोलाइएको

1 हे इस्राएलका मानिसहरू हो, यो वचन सुन, जुन वचन याहवेहले तिमीहरूको विरुद्धमा बोल्नुभएको छ—मैले इजिप्टबाट ल्याएका सम्पूर्ण परिवारको विरुद्धमा:

2 "पृथ्वीका सारा घरानाका बीचबाट

मैले केवल तिमीहरूलाई मात्र चुनेको छु;

यसकारण म तिमीहरूलाई तिमीहरूका

सबै पापहरूको दण्ड दिनेछु।"

3 के एक-आपसमा सहमत नभएसम्म

दुई जना सँगसँगै हिँड्छन् र?

4 के जङ्गलमा शिकार नै नभेटी

सिंह गर्जन्छ र?

के सिंहले केही फेला नपारीकन

त्यो आफ्नो गुफाभित्र गर्जन्छ र?

5 के पासोमा चारो राखिएको छैन भने,

चरो पासोमा पर्छ र?

के पासोमा केही परेको छैन भने,

त्यो पासो भुइँबाट माथि आफैँ उछिटिन्छ र?

6 जब सहरमा तुरही फुकिन्छ,

तब के मानिसहरू डरले काम्दैनन् र?

जब सहरमा विपत्ति आउँछ,

के त्यो याहवेहले नपठाउनुभएसम्म आउँछ र?

7 निश्‍चय नै प्रभु याहवेहले

आफ्नो योजना उहाँका सेवक अगमवक्ताहरूलाई

प्रकट नगरी केही पनि गर्नुहुन्‍न।

8 सिंह गर्जेको सुनेर,

को भयभीत नहोला र?

प्रभु याहवेहले बोल्नुभएको छ;

अनि कसले अगमवाणी गर्दैन र?

9 अश्दोदका किल्‍लाहरू

र इजिप्टका किल्‍लाहरूलाई घोषणा गर:

"सामरियाका पर्वतहरूमा एकसाथ भेला होओ;

त्यसभित्र भएको ठूलो अशान्ति

र त्यसका आफ्नै मानिसहरूका बीचको थिचोमिचो हेर।"

10 याहवेह घोषणा गर्नुहुन्छ,

"कसरी उचित काम गर्ने भन्‍ने कुरा तिनीहरूलाई थाहा नै छैन;

तिनीहरूले खोसेका र लुटेका मालसामानहरू

तिनीहरूका किल्‍लाहरूमा थुपार्छन्।"

11 यसकारण प्रभु याहवेह यसो भन्‍नुहुन्छ:

"शत्रुले तिमीहरूको देशमाथि आक्रमण गर्नेछ;

त्यसले तिमीहरूका बलिया गढहरूलाई नाश गर्नेछ,

र तिमीहरूका किल्‍लाहरूलाई लुटपाट गर्नेछ।"

12 याहवेह यसो भन्‍नुहुन्छ:

"जसरी एउटा गोठालोले सिंहको मुखबाट भेडाका

खुट्टाका दुई वटा हड्डीहरू अथवा एउटा कानको टुक्रा मात्र बचाउँछ,

त्यसरी नै सामरियामा बस्‍ने इस्राएलीहरू,

पलङको कुना र गद्दीमा बस्‍ने

थोरै मानिसहरू मात्र बचाइनेछन्।"

13 प्रभु याहवेह, सेनाहरूका परमेश्‍वर घोषणा गर्नुहुन्छ, "यो सुन, र याकोबको घरानाको विरुद्धमा यो चेतावनी देओ।

14 "जुन दिन इस्राएललाई त्यसका पापहरूका निम्ति दण्ड दिन्छु,

म बेथेल सहरका वेदीहरू ध्वस्त गर्नेछु;

वेदीका चारैतिरका सिङहरू काटिनेछन्,

र ती भुइँमा खस्‍नेछन्।

15 म गर्मीका महल सँगसँगै हिउँदका

महललाई पनि भत्काउनेछु;

हस्तीदन्तले सजिएका भवनहरू ध्वस्त पारिनेछन्,

र दरबारहरू भत्काइनेछन्,"

याहवेह घोषणा गर्नुहुन्छ।

Veja também

Publicidade
Amós
Ver todos os capítulos de Amós
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-