Publicidade

Amós 5

विलाप र पश्‍चात्तापको निम्ति आह्वान

1 हे इस्राएलको घराना हो, मैले तिमीहरूका निम्ति गरेको विलापको गीत सुन:

2 "कन्ये इस्राएल फेरि

कहिल्यै नउठ्ने गरी लडेकी छे;

आफ्नै देशमा त्यागिएकी छे;

त्यसलाई उठाउने कोही पनि छैन।"

3 प्रभु याहवेह इस्राएललाई यसो भन्‍नुहुन्छ:

"तेरो सहरबाट एक हजार जना सेनाहरू निस्कन्छन्,

तर केवल एक सय मात्र छोडिनेछन्;

तेरो सहरबाट एक सय जना सेनाहरू निस्कन्छन्,

तर केवल दश जना मात्र छोडिनेछन्।"

4 याहवेहले इस्राएलको घरानालाई यसो भन्‍नुहुन्छ:

"मलाई खोज र तिमीहरू जीवित रहो;

5 बेथेललाई नखोज,

गिलगालमा नजाओ

र बेर्शेबातिर यात्रा नगर।

किनकि गिलगाल निश्‍चय नै निर्वासनमा लगिनेछ;

अनि बेथेल काम नलाग्ने हुनेछ।"

6 याहवेहलाई खोज र जीवित रहो,

नत्रता उहाँ योसेफको घरानामा आगोजस्तै दन्किएर आउनुहुनेछ;

जुन आगोले तिनीहरूलाई भस्म पार्नेछ,

र त्यसलाई निभाउन बेथेलमा कोही पनि हुनेछैन।

7 त्यहाँ न्यायलाई तितो बनाउने,

र धार्मिकतालाई माटोमा मिलाउने दुवै हुनेछैनन्।

8 उहाँले किरकिटी र मृगशिरा तारामण्डललाई सृजना गर्नुभयो,

जसले मध्य रातलाई बिहानीमा र

र मध्य दिनलाई रातमा परिवर्तन गर्नुहुन्छ;

जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ,

र ती पानीहरूलाई जमिनमाथि खन्याउनुहुन्छ;

उहाँको नाम याहवेह हो।

9 उहाँले बलिया किल्‍लाहरूलाई अचानक सर्वनाश गर्नुहुन्छ,

र बलिया गढ भएको सहरलाई तहसनहस पार्नुहुन्छ।

10 तिमीहरू अदालतमा साँचो न्याय गर्नेलाई घृणा गर्छौ,

र सत्य बोल्नेलाई तुच्छ ठान्छौ।

11 तिमीहरू गरिबमाथि परालको समेत कर लगाउँछौ,

र तिनीहरूका अन्‍नमा कर थोपर्छौ।

यसकारण तिमीहरूले ढुङ्गाका महलहरू बनाएका छौ,

तर तिमीहरू ती महलहरूमा बस्‍नेछैनौ;

तिमीहरूले सुन्दर दाखबारी लगाएका छौ,

तर तिमीहरूले त्यसको दाखरस पिउनेछैनौ।

12 किनकि म जान्दछु, तिमीहरूका अपराधहरू कति धेरै छन्,

र तिमीहरूका पापहरू निकै गम्भीर छन्।

तिमीहरू जसले धर्मीहरूलाई सताउँछौ र घूस लिन्छौ;

अनि गरिबलाई अदालतमा न्याय पाउनबाट रोक्छौ।

13 यसकारण यस्तो समयमा बुद्धिमान् मानिस पनि चुपचाप बस्‍नेछ;

किनकि समय खराब छ।

14 भलाइको खोजी गर, दुष्‍टताको होइन,

ताकि तिमीहरू बाँचिरहो।

तब तिमीहरूले भन्‍ने गरेझैँ,

याहवेह सेनाहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुनेछ।

15 दुष्‍टतालाई घृणा गर, भलाइलाई प्रेम गर;

अदालतमा न्यायलाई कायम राख।

सायद याहवेह सेनाहरूका परमेश्‍वरले

योसेफका बाँकी रहेकाहरूमाथि अनुग्रह गर्नुहुनेछ।

16 यसकारण याहवेह सेनाहरूका परमेश्‍वर भन्‍नुहुन्छ:

"सबै सडकहरूमा रुवाबासी

र हरेक सार्वजनिक चोकहरूमा वेदनाका रोदनहरू हुनेछन्।

खेती गर्ने किसानहरूलाई रुन

र शोक गर्नेहरूलाई विलाप गर्न बोलाइनेछ।

17 त्यहाँ सबै दाखबारीहरूमा रुवाबासी हुनेछ;

किनकि म तिमीहरूका बीचबाट भएर जानेछु,"

याहवेह भन्‍नुहुन्छ।

याहवेहको दिन

18 धिक्‍कार तिमीहरूलाई, जसले

याहवेहको दिनको तिर्सना गर्दछौ!

तिमीहरू याहवेहको दिनको किन तिर्सना गर्दछौ?

त्यो दिन उज्यालो होइन, तर अन्धकारको दिन हुनेछ।

19 कुनै मानिस सिंहबाट भागेर

भालुलाई भेटे जस्तै,

र घरभित्र पस्दा,

र विश्रामको लागि आफ्नो हात भित्तामा राख्दा

त्यसलाई सर्पले डसेजस्तै, त्यो दिन हुनेछ।

20 हो, याहवेहको दिन उज्यालो होइन, तर अन्धकारमय हुनेछ;

अर्थात् उज्यालोको किरण विनाको घोर अन्धकार।

21 "म तिमीहरूका धार्मिक चाडहरूलाई तुच्छ ठान्छु;

मेरा लागि तिमीहरूका सभाहरू दुर्गन्धजस्तै हो।

22 तिमीहरूले मेरा निम्ति होमबलि र अन्‍नबलिहरू चढाए पनि,

म ती बलिहरू ग्रहण गर्नेछैनँ।

तिमीहरूले अति असल बाछाको मेलबलिहरू चढाए तापनि

म ती बलिहरूलाई वास्ता गर्नेछैनँ।

23 तिमीहरूका प्रशंसाको होहल्‍ला मबाट टाढा राख!

म तिमीहरूका वीणाको सङ्गीत सुन्‍नेछैनँ।

24 तर न्याय एउटा नदीझैँ बगोस्,

र धार्मिकताचाहिँ कहिल्यै नसुक्ने मुहानझैँ!

25 "हे इस्राएलका घराना हो, के तिमीहरूले उजाडस्थानमा चालीस वर्षसम्म

मेरा निम्ति बलिदानहरू र भेटीहरू चढायौ?

26 तर तिमीहरूले आफ्ना राज-देव सक्‍कूत,

र तिमीहरूको तारा-देव कीयूनका

देवस्थानलाई उचालेका छौ,

जसलाई तिमीहरूले आफ्नै निम्ति बनाएका थियौ।

27 यसकारण म तिमीहरूलाई दमस्कसभन्दा टाढा निर्वासनमा पठाउनेछु,"

याहवेह भन्‍नुहुन्छ, जसको नाम सेनाहरूका परमेश्‍वर हो।

Veja também

Publicidade
Amós
Ver todos os capítulos de Amós
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-