Pular para o conteúdo
Publicidade

आमोस 2

1 याहवेह यसो भन्‍नुहुन्छ:

"मोआबका तीन वटा पापहरू,

अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

किनकि त्यसले एदोमको राजाका

हड्डीहरू जलाएर खरानी पारिदियो;

2 म मोआबमाथि आगो पठाउनेछु,

जसले किर्योतका किल्‍लाहरूलाई भस्म पार्नेछ।

मोआबको पतन ठूलो होहल्‍लाका साथ

युद्ध-ध्वनिको बीचमा र तुरहीका आवाजका साथ हुनेछ।

3 म त्यसको शासकलाई नाश गर्नेछु,

र त्यसका सबै अधिकारीहरूलाई त्योसितै मार्नेछु,"

याहवेह भन्‍नुहुन्छ।

4 याहवेह यसो भन्‍नुहुन्छ:

"यहूदाका तीन वटा पापहरू,

अथवा चारै वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

किनकि तिनीहरूले याहवेहको व्यवस्थालाई अस्वीकार गरेका छन्,

र उहाँका आदेशहरूलाई पालन गरेका छैनन्;

किनकि तिनीहरू झूटा देवताहरूको कारण बाटो बिराएका छन्,

जसका पितापुर्खाहरूले तिनीहरूलाई पछ्याएका थिए,

5 म यहूदामाथि आगो पठाउनेछु;

त्यसले यरूशलेमका किल्‍लाहरू भस्म पार्नेछ।"

इस्राएलमाथि न्याय

6 याहवेह यसो भन्‍नुहुन्छ:

"इस्राएलका तीन वटा पापहरूका कारण,

अथवा चार वटा पापहरूका कारण म त्यसलाई दण्ड नदिई छोड्नेछैनँ।

तिनीहरूले निर्दोषलाई चाँदीमा,

र खाँचोमा परेकाहरूलाई एक जोर जुत्तामा बेच्छन्।

7 तिनीहरूले भुइँको धुलोमा कुल्चेझैँ

गरिबका टाउकोमाथि कुल्चन्छन्;

अनि अत्याचारमा परेकाहरूलाई न्याय दिँदैनन्।

बुबा र छोराले एउटै स्त्रीलाई प्रयोग गर्छन्;

अनि यसरी मेरो पवित्र नामलाई अपवित्र बनाउँछन्।

8 तिनीहरू हरेक वेदीको छेउमा

बन्धकको रूपमा राखेका लुगाहरूमा ढल्किन्छन्।

तिनीहरू आफ्ना देवताको मन्दिरमा

जरिमानाको रूपमा उठाएको दाखमद्य पिउँछन्।

9 "मैले तिनीहरूकै सामु एमोरीहरूलाई नाश गरेँ,

तर पनि त्यो देवदारुको रूखजस्तै अल्गो,

र फलाँटको रूखजस्तै बलियो थियो।

मैले ती रूखहरूमाथि रहेका फलहरू,

र त्यसको तल रहेका जराहरू नाश गरिदिएँ।

10 तिमीहरूलाई एमोरीहरूको देश अधिकारमा दिनका निम्ति

मैले तिमीहरूलाई इजिप्टबाट निकालेर ल्याएँ;

अनि मैले तिमीहरूलाई चालीस वर्षसम्म उजाडस्थानमा डोर्‍याएँ।"

11 मैले तिमीहरूका छोराहरूका बीचबाट अगमवक्ताहरू

र तिमीहरूका जवान पुरुषहरूका बीचबाट नाजिरीहरू खडा गरेँ।

"हे इस्राएलका मानिसहरू हो, के यो साँचो होइन र?"

याहवेह घोषणा गर्नुहुन्छ।

12 "तर तिमीहरूले नाजिरीहरूलाई दाखमद्य पिउन बाध्य गरायौ,

र अगमवक्ताहरूलाई अगमवाणी नबोल भनी आदेश दियौ।

13 "त्यसैले अब म अन्‍नले लादिएको गाडाले किचेझैँ

तिमीहरूलाई जमिनमा किचिदिनेछु।

14 वेगसित दगुर्ने पनि उम्कनेछैन;

बलवान्‌हरूको बल पनि काम लाग्नेछैन,

र योद्धाहरूले पनि आफ्नो प्राण बचाउन सक्नेछैनन्।

15 धनु चलाउने पनि आफ्नो ठाउँमा टिक्नेछैन;

र अति वेगसित दौडने सिपाही उम्कनेछैन;

अनि घोडसवारले पनि आफ्नो प्राण बचाउन सक्नेछैन।

16 बहादुर योद्धाहरू नै भए तापनि

त्यो दिन तिनीहरू नाङ्गै भाग्नेछन्,"

याहवेह घोषणा गर्नुहुन्छ।

Estes versículos te tocaram? Ore agora!

+581 estão orando agora.

Junte-se à corrente de oração.