Publicidade

Amós 9

इस्राएल ध्वस्त पारिनेछ

1 मैले प्रभुलाई वेदीको छेउमा उभिरहनुभएको देखेँ; अनि उहाँले भन्‍नुभयो:

"खम्बाका टुप्पाहरूमा हिर्का,

ताकि सँघारहरू हल्‍लिऊन्।

सबै मानिसहरूका टाउकोमाथि ती ढालिऊन्;

बाँकी बचेकाहरूलाई म तरवारले मार्नेछु।

एकै जना पनि भाग्न पाउनेछैन;

एउटै पनि उम्कन पाउनेछैन।

2 तिनीहरू पातालको गहिराइसम्म गए तापनि

मेरो हातले तिनीहरूलाई त्यहाँबाट निकाल्नेछ।

तिनीहरू माथि स्वर्गमा उक्ले तापनि

म तिनीहरूलाई तल झार्नेछु।

3 तिनीहरू कर्मेलको टाकुरामा लुके तापनि

त्यहाँ म तिनीहरूलाई खोज्नेछु र पक्रिनेछु।

तिनीहरू मेरो दृष्‍टिबाट समुद्रको पीँधमा लुके तापनि

त्यहाँ म तिनीहरूलाई डस्‍न सर्पहरूलाई आज्ञा दिनेछु।

4 तिनीहरूका शत्रुहरूले तिनीहरूलाई निर्वासनमा लगे तापनि

त्यहाँ म तिनीहरूलाई मार्न तरवारलाई आज्ञा दिनेछु।

"म मेरो नजर तिनीहरूमाथि राख्नेछु,

भलाइको निम्ति होइन, तर खराबीको निम्ति।"

5 प्रभु, सेनाहरूका याहवेह,

उहाँ जसले पृथ्वीलाई छुनुहुन्छ, र त्यो पग्लन्छ;

अनि त्यहाँ बस्‍नेहरू सबै विलाप गर्छन्;

सारा देश नील नदीझैँ माथि उठ्नेछ,

त्यसपछि इजिप्ट नदीझैँ डुब्नेछ;

6 उहाँले आफ्नो भव्य दरबार आकाशमा बनाउनुहुन्छ,

र यसको जग पृथ्वीमा बसाल्नुहुन्छ;

उहाँ जसले समुद्रको पानीलाई बोलाउनुहुन्छ,

र ती पानीलाई जमिनको सतहमाथि खन्याउनुहुन्छ,

उहाँको नाम याहवेह हो।

7 "के तिमी इस्राएलीहरू मेरा निम्ति

कूशका सन्तानजस्ता छैनौ र?"

याहवेहले घोषणा गर्नुहुन्छ।

"के मैले इस्राएललाई इजिप्टबाट,

पलिश्तीहरूलाई कप्‍तोरबाट,

र अरामीहरूलाई कीरबाट निकालेर ल्याएको होइन?

8 "निश्‍चय नै प्रभु याहवेहको दृष्‍टि

यो दुष्‍ट राज्यमाथि छ।

म यसलाई पृथ्वीको

सतहबाट ध्वस्त गर्नेछु।

तापनि म याकोबको घरानालाई

सम्पूर्ण रूपले नाश गर्नेछैनँ,"

याहवेह घोषणा गर्नुहुन्छ।

9 "किनकि म आज्ञा दिनेछु,

र इस्राएलको घरानालाई

सबै राष्ट्रहरूका बीचमा यसरी हल्‍लाउनेछु,

जसरी चाल्नीमा अन्‍नलाई चालिन्छ;

तर एउटा ढुङ्गाको टुक्रा पनि भुइँमा खस्‍नेछैन।

10 मेरा मानिसहरूका बीचमा भएका

सबै पापीहरू तरवारले मारिनेछन्;

तिनीहरू सबै जना, जसले यसो भन्छन्,

‘विपत्ति हामी नजिक आउनेछैन, न त विपत्तिले हामीलाई छुने नै छ।’ 

इस्राएलको पुनर्स्थापन

11 "त्यस दिन,

"म दावीदको भत्केको पाललाई फेरि स्थापित गर्नेछु,

अर्थात् म यसका भत्केका पर्खालहरू मर्मत गर्नेछु;

अनि यसका भग्नावशेषहरूलाई फेरि निर्माण गर्नेछु,

अर्थात् योजस्तो पहिले थियो, त्यस्तै फेरि निर्माण गर्नेछु,

12 ताकि तिनीहरूले एदोमका बाँकी बचेकाहरूलाई

र मेरो नाम लिने सबै राष्ट्रहरूमाथि अधिकार गर्न सकून्,"

याहवेह घोषणा गर्नुहुन्छ, जसले यी कुराहरू गर्न सक्नुहुन्छ।

13 याहवेह घोषणा गर्नुहुन्छ, ती दिनहरू आउँदैछन्,

"जब जोत्नेले कटनी गर्नेलाई उछिन्‍नेछ,

र बिउ छर्नेले दाख पेल्नेलाई उछिन्‍नेछ।

नयाँ दाखमद्य पर्वतहरूबाट चुहुनेछन्,

र सबै डाँडाहरूबाट ती बग्नेछन्।

14 म मेरो जाति इस्राएललाई निर्वासनबाट फर्काएर ल्याउनेछु।

"तिनीहरूले भत्केका सहरहरू फेरि पुनर्निर्माण गर्नेछन्,

र ती सहरहरूमा बसोबास गर्नेछन्।

तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनीहरूका दाखमद्य पिउनेछन्;

तिनीहरूले बगैँचाहरू बनाउनेछन् र त्यहाँका फलहरू खानेछन्।

15 म इस्राएललाई तिनीहरूको आफ्नै देशमा बसाल्नेछु,

मैले तिनीहरूलाई दिएको

देशबाट फेरि कहिल्यै पनि नउखेलिने गरी बसाल्नेछु,"

याहवेह तिमीहरूका परमेश्‍वर यसो भन्‍नुहुन्छ।

Veja também

Publicidade
Amós
Ver todos os capítulos de Amós
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-