परमेश्वरको निम्ति जिउनु
1 यसकारण ख्रीष्टले आफ्नो शरीरमा दुःख भोग्नुभएको हुनाले तिमीहरू पनि आफूलाई त्यही भावनाले सुसज्जित पार; किनकि जसले आफ्नो शरीरमा दुःख भोगेको हुन्छ, त्यसले पापलाई त्यागेको हुन्छ; 2 अब उसो त्यसले आफ्नो बाँकी शारीरिक जीवन दुष्ट मानवीय इच्छाको लागि जिउँदैन, बरु परमेश्वरको इच्छाको निम्ति जिउँदछ। 3 किनकि बितेका समयमा तिमीहरूले छाडा, वासनाका जीवन, मतवालापन, कामुकता, मोजमज्जा तथा घिनलाग्दा मूर्तिपूजाहरूजस्ता गैरयहूदीले गर्न छानेका कुराहरूमा प्रशस्त समय बितायौ। 4 तिमीहरू तिनीहरूसँग तिनीहरूका जङ्गली र विनाशकारी जीवनमा लागेनौ भनेर तिनीहरूले अचम्म मानेका छन्, र तिमीहरूमाथि अपमान थुपारेका छन्। 5 तर तिनीहरूले जिउँदा र मरेकाहरूको न्याय गर्न तयार हुनुभएकालाई लेखा दिनुपर्नेछ।