41 अनि एलियाले आहाबलाई भने, "गएर खानपिन गर्नुहोस्; किनकि मुसलधारे वर्षाको आवाज सुनिँदैछ।" 42 यसकारण आहाब खानपिन गर्न गए। तर एलियाचाहिँ कर्मेलको टाकुरामा चढे; अनि भुइँसम्मै निहुरेर आफ्नो मुख आफ्ना घुँडाहरूको बीचमा राखे।
43 तिनले आफ्नो सेवकलाई भने, "गएर समुद्रतिर हेर्।"
अनि त्यो माथि गयो, र हेरेर भन्यो, "त्यहाँ केही पनि छैन।"
एलियाले त्यसलाई सातपल्ट "फेरि फर्केर जा" भने।
44 सातौँ पटकमा त्यस सेवकले "कुनै मानिसको हात जत्रो सानो एउटा बादल समुद्रबाट उठिरहेको छ" भन्ने खबर दियो।
यसकारण एलियाले त्यसलाई भने, "गएर आहाबलाई भनिदे, ‘वर्षाले तपाईंलाई रोक्नुभन्दा पहिले आफ्नो रथ तयार गरेर तल गइहाल्नुहोस्।’ "
45 त्यसै बेला आकाश बादलले कालो भयो; बतास चल्न थाल्यो, र मुसलधारे वर्षा हुन थाल्यो। अनि आहाब यिजरेलतर्फ सवार भए। 46 याहवेहको शक्ति एलियामाथि आयो, अनि आफ्नो पेटीमा आफ्नो खास्टो कसेर तिनी आहाबको अगि-अगि यिजरेलसम्मै दगुरे।