Publicidade

Salmos 49

सङ्गीत निर्देशकको निम्ति, कोरहका छोराहरूको भजन।

1 हे सबै जाति-जातिहरू हो, यो सुन;

हे संसारका बासिन्दाहरू हो, सुन;

2 साना र ठूला दुवै,

धनी र गरिब सबै ध्यान देओ:

3 मेरो मुखले बुद्धिका कुराहरू बोल्नेछ;

मेरो हृदयका चिन्तनले समझशक्ति प्रदान गर्नेछ।

4 म हितोपदेशमा ध्यान लगाउनेछु;

वीणा बजाएर उखानको अर्थ खोल्नेछु।

5 दुष्‍ट छलीहरूले मलाई घेर्दा,

दुःखका दिनहरू आउँदा म किन डराउने,

6 तिनीहरू, जसले आफ्नो सम्पत्तिमाथि भरोसा राख्छन्,

र आफ्नो ठूलो धनसम्पत्तिको घमण्ड गर्छन्।

7 कुनै पनि मानिसले कसैको प्राणको उद्धार गर्न सक्दैन,

न त परमेश्‍वरलाई आफ्नो जीवनको लागि मोल नै दिन सक्छ।

8 जीवनको मूल्य धेरै मूल्यवान् हुन्छ;

कसैको धनले तिरेर कहिल्यै पुग्दैन।

9 कोही पनि यस्तो मानिस छैन, जो सधैँ जीवित रहन्छ,

र कहिल्यै कुहुनुपर्दैन

10 किनकि सबैलाई थाहा छ, बुद्धिमान् मानिसहरू मर्छन्;

मूर्ख र विवेकहीन मानिसहरू पनि मर्छन्,

तिनीहरूका धनसम्पत्ति अरूहरूका लागि छोड्छन्।

11 तिनीहरूको निम्ति चिहान नै सदासर्वदाको घर हुन्छ;

पुस्तौँसम्म ती तिनीहरूका वासस्थान हुनेछन्,

यद्यपि तिनीहरूले आफ्नो जमिन आफ्नै नाममा राखेका थिए।

12 मानिसहरू महान् भए तापनि सधैँभरि जीवित रहन सक्दैनन्;

तिनीहरू नष्‍ट हुने पशुजस्तै छन्।

13 आफूमाथि भर पर्ने ती सबैको गति यस्तै हुन्छ,

र तिनीहरूको कुराहरूलाई समर्थन गरेर

तिनीहरूका पछि लाग्नेहरूको गति पनि यस्तै हुन्छ। सेला

14 भेडाहरूजस्तै तिनीहरूको अन्त्य मृत्यु हुन्छ;

मृत्यु तिनीहरूको गोठालो हुनेछ

(तर बिहानै धर्मीहरूले तिनीहरूमाथि शासन गर्नेछन्)।

तिनीहरूका भौतिक शरीर चिहानमा कुहेर जानेछ;

तिनीहरूका राजकीय महलदेखि टाढा।

15 तर परमेश्‍वरले मेरो प्राणलाई चिहानको शक्तिबाट उद्धार गर्नुहुनेछ;

निश्‍चय नै उहाँले मलाई आफूसँग लिनुहुनेछ।

16 नडराओ, जब अरू कोही धनी हुन्छन्,

जब तिनीहरूको घरको गौरव बढ्छ;

17 किनकि तिनीहरू मरेर जाँदा तिनीहरूले आफूसँग केही पनि लैजान सक्दैनन्;

तिनीहरूको गौरव तिनीहरूसँग चिहानमा जाँदैन।

18 तिनीहरूले जीवित हुँदा आफूलाई धन्यको ठाने तापनि—

र तिम्रो उन्‍नति हुँदा मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—

19 तिनीहरू पहिल्यै मरेका आफ्ना पितापुर्खाहरूका पुस्ताकहाँ मिल्न जानेछन्;

जसले जीवनको ज्योति फेरि कहिल्यै देख्नेछैनन्।

20 जोसँग धनसम्पत्ति छ, तर समझशक्ति छैन भने

ती मानिसहरू नष्‍ट हुने पशुजस्तै हुन्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-