Publicidade

Salmos 59

सङ्गीत निर्देशकको निम्ति, "विनाश नहोस्" को रागमा आधारित, दावीदको मिक्ताम, जब शाऊलले दावीदलाई मार्न भनी उनका घरमा सुराकी गर्न पठाएका थिए।

1 हे परमेश्‍वर, मलाई मेरा शत्रुहरूबाट छुटाउनुहोस्;

मलाई आक्रमण गर्नेहरूबाट रक्षा गर्नुहोस्।

2 दुष्‍ट कार्य गर्नेहरूबाट मलाई छुटकारा दिनुहोस्,

र मेरो प्राण लिन खोज्नेहरूबाट मलाई बचाउनुहोस्।

3 हेर्नुहोस्, मेरो प्राण लिनलाई तिनीहरू कसरी ढुकेर बसेका छन्!

हे याहवेह, मेरो दोष वा पाप नभए तापनि

कारणविना क्रूर मानिसहरू मेरो विरुद्धमा षड्यन्त्र रच्दछन्।

4 मेरो कुनै दोषविना नै तिनीहरू मलाई आक्रमण गर्न तयार छन्।

मलाई सहायता गर्न उठ्नुहोस्; मेरो दुर्गतिमा दृष्‍टि गर्नुहोस्।

5 हे याहवेह, सेनाहरूका परमेश्‍वर,

हे इस्राएलका परमेश्‍वर,

सबै राष्ट्रहरूलाई दण्ड दिन तपाईं जाग्नुहोस्;

विश्‍वासघातीहरूमाथि कुनै दया नदेखाउनुहोस्। सेला

6 तिनीहरू साँझपख

कुकुरहरूजस्तै घुर्दै,

सहरको चारैतिर आउँछन्।

7 हेर्नुहोस्, तिनीहरूको मुखबाट के निकाल्छन्—

तिनीहरूका ओठबाट निक्लेका शब्दहरू तरवारजस्तै धारिला छन्;

अनि तिनीहरू सोच्दछन्, "हामीलाई कसले सुन्‍न सक्छ र?"

8 तर हे याहवेह, तपाईं तिनीहरूमाथि हाँस्‍नुहुन्छ;

तपाईं सबै राष्ट्रहरूको उपहास गर्नुहुन्छ।

9 तपाईं मेरो शक्ति हुनुहुन्छ, म तपाईंको प्रतीक्षा गर्दछु;

हे परमेश्‍वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ।

10 मेरो परमेश्‍वरको अचुक प्रेममा, उहाँ मसँग खडा हुनुहुनेछ,

र परमेश्‍वर मेरो अगाडि जानुहुनेछ।

उहाँले मलाई मेरा शत्रुहरूमाथि विजय देख्न दिनुहुनेछ।

11 तर हे प्रभु, हाम्रा ढाल, तिनीहरूलाई नमार्नुहोस्,

नत्रता मेरा मानिसहरूले भुल्नेछन्।

तपाईंको शक्तिले तिनीहरूलाई उखेल्नुहोस्

र तिनीहरूलाई होच्याउनुहोस्।

12 तिनीहरूका मुखको पापको फल,

तिनीहरूका ओठका शब्दहरूका कारण,

तिनीहरू आफ्नै घमण्डमा फसून्।

तिनीहरूले बोलेका श्राप र झूटका कारण,

13 तपाईंको क्रोधमा तिनीहरूलाई भस्म पार्नुहोस्,

तिनीहरू पूरै नष्‍ट नहोउन्जेल भस्म गर्नुहोस्।

तब पृथ्वीको छेउसम्मै मानिसहरूले जान्‍नेछन्,

कि परमेश्‍वरले इस्राएलमाथि र संसारभरि राज्य गर्नुहुन्छ।

14 तिनीहरू साँझपख

कुकुरहरूजस्तै घुर्दै

सहरको चारैतिर आउँछन्।

15 तिनीहरू आहाराको खोजीमा भौँतारिन्छन्,

अनि तिनीहरू आहाराले सन्तुष्‍ट नहुँदा कराउँछन्।

16 तर म तपाईंको शक्तिको गुणगान गाउनेछु,

बिहानै म तपाईंको अचुक प्रेमको गीत गाउनेछु;

किनकि तपाईं मेरा किल्‍ला हुनुहुन्छ,

सङ्कष्‍टको दिनमा मेरो शरणस्थान हुनुहुन्छ।

17 तपाईं मेरो बल हुनुहुन्छ, म तपाईंको प्रशंसा गाउनेछु;

हे परमेश्‍वर, तपाईं मेरो शरणस्थान हुनुहुन्छ,

मेरो प्रेमिला परमेश्‍वरमा म भरोसा गर्न सक्छु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-