Publicidade

Salmos 101

दावीदको भजन।

1 म तपाईंको अचुक प्रेम र न्यायको गीत गाउनेछु;

हे याहवेह, म तपाईंको प्रशंसा गाउनेछु।

2 म निर्दोष जीवन बिताउनलाई होसियार रहनेछु,

तपाईं मकहाँ कहिले आउनुहुनेछ?

म निर्दोष हृदय लिएर

आफ्नो घरको कामकाज गर्नेछु।

3 म आफ्नो आँखाहरू अगि

कुनै पनि अनुचित कुराहरू राख्नेछैनँ।

पथभ्रष्‍ट भएकाहरूका कामलाई म घृणा गर्छु;

यसमा मेरो कुनै सरोकार हुनेछैन।

4 कुटिल हृदय भएकाहरू मबाट टाढा रहनेछन्;

दुष्‍टसँग मेरो कुनै सरोकार रहनेछैन।

5 जसले गुप्‍तमा आफ्ना छिमेकीको निन्दा गर्दछ,

म त्यसलाई नाश गर्नेछु;

अहङ्कारी दृष्‍टि भएका र घमण्डी हृदय भएकालाई,

म सहनेछैनँ।

6 देशका विश्‍वासयोग्य जनहरूमाथि म मेरो नजर राख्नेछु;

ताकि तिनीहरू मसित बास गरून्;

त्यो, जसको चालचलन निर्दोष छ,

उसले नै मेरो सेवा गर्नेछ।

7 छली काम गर्ने कसैले पनि

मेरो घरमा बास पाउनेछैन;

झूटो बोल्ने कोही पनि

मेरो उपस्थितिमा खडा हुनेछैन।

8 हरेक बिहान म

देशका दुष्‍ट काम गर्नेहरू सबैलाई नाश पार्नेछु;

याहवेहको सहरबाट

म हरेक दुष्कर्मीलाई नष्‍ट पार्नेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-