Publicidade

Salmos 41

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्;

याहवेहले तिनीहरूलाई सङ्कष्‍टको दिनमा बचाउनुहुन्छ।

2 याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ।

तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्।

उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्‍न।

3 याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ,

र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।

4 मैले भनेँ, "हे याहवेह, ममाथि कृपा गर्नुहोस्;

मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।"

5 मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्,

"त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?"

6 जब तीमध्ये कोही मलाई भेट्न आउँछ,

त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ;

तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।

7 मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्;

तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्,

8 "त्यसलाई घातक रोग लागेको छ;

त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।"

9 मेरो घनिष्‍ठ मित्रले,

जसलाई मैले भरोसा गरेँ,

जसले मेरै भोजन खान्थ्यो,

त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।

10 तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्;

मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ!

11 म जान्दछु, तपाईं मसँग प्रसन्‍न हुनुहुन्छ;

किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्।

12 मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ

र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ।

13 याहवेह, इस्राएलका परमेश्‍वरलाई,

सदासर्वदा प्रशंसा होस्!

आमेन! आमेन!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-