Publicidade

Salmos 107

1 याहवेहलाई धन्यवाद देओ; किनकि उहाँ भलो हुनुहुन्छ;

उहाँको अचुक प्रेम सधैँभरि रहिरहन्छ।

2 याहवेहले छुटकारा दिनुभएकाहरूले

वैरीहरूका हातबाट छुटाइएकाहरूले,

3 विभिन्‍न देशहरूबाट,

पूर्व र पश्‍चिमबाट, उत्तर र दक्षिणबाट एकत्रित भएकाहरूले यसो भनून्:

4 कसै-कसैले बसोबास गर्नलाई कुनै सहर भेट्टाएनन्,

र मरुभूमिका उजाडस्थानतिर भौँतारिँदै हिँडे।

5 तिनीहरू भोक र प्यासले दुर्बल भई

प्राण जालाजस्तै भइसकेका थिए।

6 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।

7 उहाँले तिनीहरूलाई सीधा मार्गबाट डोर्‍याउनु भएर,

तिनीहरूलाई बास बस्‍न सक्ने सहरमा पुर्‍याउनुभयो।

8 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति,

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

9 किनकि उहाँले तिर्सना गर्नेहरूको प्यास मेट्नुहुन्छ,

र भोकाहरूलाई असल आहाराले सन्तुष्‍ट पार्नुहुन्छ।

10 कोही-कोही अन्धकार, र घोर अन्धकारमा जिइरहेका थिए,

कैदीहरू फलामका साङ्लाले बाँधिएर कष्‍ट भोगिरहेका थिए,

11 किनकि तिनीहरूले परमेश्‍वरका वचनको विरुद्धमा विद्रोह गरेका थिए

र सर्वोच्‍च परमेश्‍वरको योजनालाई तिरस्कार गरेका थिए।

12 यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रम गर्न लगाउनुभयो;

तिनीहरूले ठक्‍कर खाए, तर मदत गर्नलाई कोही थिएन।

13 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।

14 उहाँले तिनीहरूलाई अन्धकार, र घोर अन्धकारहरूबाट निकाल्नुभयो;

र तिनीहरू बाँधिएका साङ्लाहरू चुँडाइदिनुभयो।

15 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्;

16 किनकि उहाँले काँसोका मूलढोकाहरू भत्काइदिनुहुन्छ,

र फलामका आग्लोहरू काटेर टुक्रा-टुक्रा पारिदिनुहुन्छ।

17 कोही-कोही आफ्ना विद्रोही चालहरूले गर्दा मूर्ख बने,

र आफ्नै अधर्मका कारण कष्‍ट भोगे।

18 तिनीहरू सबै प्रकारका खानेकुराहरूदेखि वाक्‍कै भए,

र मृत्युका ढोका नजिक पुगे।

19 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट बचाउनुभयो।

20 उहाँले आफ्नो वचन पठाउनुभयो, र तिनीहरूलाई निको पार्नुभयो,

तिनीहरूलाई चिहानबाट छुटाउनुभयो।

21 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

22 तिनीहरूले धन्यवादका बलि चढाऊन्

र हर्षका गीत गाएर उहाँका कार्यको वर्णन गरून्!

23 कोही-कोही जहाजहरूमा चढी सामुद्रिक यात्रामा गए;

तिनीहरू महासागरका व्यापारीहरू थिए।

24 तिनीहरूले याहवेहका कामहरू देखे,

गहिरो सागरमा तिनीहरूले उहाँका अद्‌भुत कार्यहरू देखे।

25 किनकि उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चल्यो,

जसले गर्दा समुद्रका छालहरू माथिसम्म उठे।

26 छालहरू आकाशसम्म नै उठे, र फेरि सागरको गहिराइहरूमा झरे;

यस्तो जोखिममा तिनीहरूको साहस हराएर गयो।

27 तिनीहरू मदिराले मातेको मानिसझैँ धरमरिँन्थे;

तिनीहरूका सबै सिपहरू बेकार साबित भए।

28 तब आफ्ना कष्‍टहरूमा तिनीहरूले याहवेहलाई पुकारे,

र उहाँले तिनीहरूलाई तिनीहरूका सङ्कष्‍टहरूबाट छुटाउनुभयो।

29 उहाँले आँधीलाई शान्त पार्नुभयो;

समुद्रका छालहरू साम्य भए।

30 आँधी शान्त हुँदा तिनीहरू खुशी भए;

र उहाँले तिनीहरूलाई तिनीहरूले इच्छा गरेको बन्दरगाहमा पुर्‍याउनुभयो।

31 उहाँको अचुक प्रेम र मानिसहरूप्रति उहाँका अद्‌भुत कार्यहरूका निम्ति

तिनीहरूले याहवेहलाई धन्यवाद देऊन्!

32 तिनीहरूले मानिसहरूको समुदायमा उहाँलाई उच्‍च पारून्,

र प्रधानहरूका सभामा उहाँको प्रशंसा गरून्!

33 उहाँले नदीहरूलाई मरुभूमिमा,

र पानीका मूलहरूलाई सुक्खा भूमिमा परिवर्तन गर्नुभयो।

34 त्यहाँका बासिन्दाहरूका दुष्‍टताको कारणले गर्दा,

मलिला जमिनलाई नुनिलो मरुस्थलमा परिवर्तन गरिदिनुभयो।

35 उहाँले मरुभूमिलाई तालमा

र सुक्खा जमिनलाई पानीका मूलमा परिवर्तन गर्नुभयो;

36 उहाँले त्यहाँ भोकाहरूलाई बासको निम्ति ल्याउनुभयो,

र तिनीहरूले बसोबास गर्न सक्ने एउटा सहर निर्माण गरे।

37 तिनीहरूले खेतबारीमा बिउ छरे, र दाखबारी लगाए,

अनि प्रशस्त उब्जनी कटनी गरे;

38 उहाँले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूको जनसंख्या बढाउनुभयो;

अनि तिनीहरूका गाईबस्तुका बथान घट्न दिनुभएन।

39 त्यसपछि अत्याचार, विपत्ति र शोकले गर्दा,

तिनीहरूको जनसंख्या घट्यो र तिनीहरू होच्याइए;

40 उहाँले शासकहरूमाथि अपमान खन्याउनुहुन्छ,

र तिनीहरूलाई पथविहीन उजाड ठाउँहरूमा भौँतारिँदै हिँड्ने बनाउनुभयो।

41 तर गरिबहरूलाई उहाँले तिनीहरूका दुःखबाट उठाउनुभयो,

र तिनीहरूका परिवारहरूलाई भेडाका बगालझैँ बढाउनुभयो।

42 धर्मी मानिसहरू यो देखेर हर्षित हुन्छन्,

तर सबै दुष्‍टहरूचाहिँ आफ्नो मुख बन्द गर्छन्।

43 जो बुद्धिमान् छ, त्यसले यी कुराहरूमा ध्यान देओस्,

र याहवेहको महान् प्रेममाथि चिन्तन गरोस्।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-