Publicidade

Salmos 148

1 याहवेहको प्रशंसा गर! पदमा पनि

स्वर्गहरूबाट याहवेहको प्रशंसा गर!

उच्‍च स्थानहरूबाट उहाँको प्रशंसा गर!

2 हे उहाँका सबै दूतहरू हो, उहाँको प्रशंसा गर!

हे उहाँका स्वर्गीय सेनाहरू हो, उहाँको प्रशंसा गर!

3 हे सूर्य र चन्द्रमा हो, उहाँको प्रशंसा गर;

हे सबै चम्किला ताराहरू हो, उहाँको प्रशंसा गर!

4 हे सर्वोच्‍च स्वर्गहरू र आकाशमाथिका पानी हो,

तिमीहरूले उहाँको प्रशंसा गर!

5 तिनीहरूले याहवेहको नामको प्रशंसा गरून्;

किनकि तिनीहरू उहाँका आज्ञामा सृष्‍टि भए।

6 तब उहाँले तिनीहरूलाई सदासर्वदाको निम्ति स्थापना गर्नुभयो;

उहाँले कहिल्यै नटल्ने उर्दी जारी गर्नुभयो।

7 पृथ्वीबाट याहवेहको प्रशंसा गर!

हे सामुद्रिक विशाल जन्तुहरू हो, र सबै गहिरा सागरहरू हो,

8 बिजुली र असिना, हिउँ र बादल,

उहाँका वचन पालन गर्ने आँधीबतास हो;

9 पर्वतहरू र सबै डाँडाहरू हो,

फल फलाउने रूखहरू र सबै देवदारुहरू हो;

10 जङ्गली जनावर र सम्पूर्ण गाईबस्तुहरू हो;

स-साना जीवजन्तु र उड्ने पक्षीहरू,

11 पृथ्वीका राजाहरू र राष्ट्रहरू,

भारदारहरू र पृथ्वीका सबै शासकहरू,

12 युवकहरू र युवतीहरू,

वृद्ध मानिसहरू र बालकहरू; सबैले याहवेहको प्रशंसा गर!

13 तिनीहरू सबैले याहवेहका नामको प्रशंसा गरून्;

किनकि उहाँको नाम मात्र सबैभन्दा महान् छ;

उहाँको वैभव पृथ्वी र आकाशभन्दा पनि उच्‍च छ।

14 उहाँले आफ्ना जातिहरूका निम्ति एउटा सिङ खडा गर्नुभएको छ;

इस्राएलका सबै विश्‍वासयोग्य सेवकहरूका प्रशंसाको निम्ति,

जो उहाँको हृदयका नजिक रहन्छन्।

याहवेहको प्रशंसा गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-