Publicidade

Salmos 48

एउटा गीत, कोरहका छोराहरूको भजन।

1 हाम्रा परमेश्‍वरको सहरमा, उहाँको पवित्र पर्वतमा,

याहवेह महान् र प्रशंसाको योग्य हुनुहुन्छ।

2 उचाइमा सुन्दर,

सारा पृथ्वीको आनन्द सियोन पर्वत हो,

जो सापोनको उचाइझैँ छ,

जो हाम्रा महाराजाको सहर हो।

3 तिनका किल्‍लाहरूमा परमेश्‍वर हुनुहुन्छ;

तिनका रक्षक परमेश्‍वर आफैँ हुनुहुन्छ भनी उहाँले देखाउनुभएको छ।

4 जब राजाहरूले एकसाथ दल बाँधे;

जब तिनीहरूसँगै अगि बढे,

5 तिनीहरूले तिनलाई देखे; र तिनीहरू छक्‍क परे;

तिनीहरू डराएर भागे।

6 तिनीहरू त्यहीँ नै डरले थरथर काँप्न लागे,

प्रसवपीडामा भएकी स्त्रीजस्तै तिनीहरू पीडामा परे।

7 तर्शीशको जहाजहरूलाई झैँ

तपाईंले तिनीहरूलाई पूर्वीय बतासले नष्‍ट पार्नुभयो।

8 सेनाहरूका याहवेहको सहरमा,

हाम्रा परमेश्‍वरको नगरमा,

जस्तो हामीले सुनेका थियौँ,

त्यस्तै देखेका छौँः

परमेश्‍वरले तिनलाई

सदासर्वदा सुरक्षित राख्नुहुन्छ। सेला

9 हे परमेश्‍वर, तपाईंको मन्दिरभित्र,

हामी तपाईंको अचुक प्रेमको ध्यान गर्छौँ।

10 हे परमेश्‍वर, तपाईंको नामजस्तै,

तपाईंको प्रशंसा पृथ्वीको छेउसम्मै पुग्दछ;

तपाईंको दाहिने बाहुली धार्मिकताले भरिएको छ।

11 तपाईंका सही न्यायहरूका कारण,

सियोन पर्वत आनन्दित हुन्छ;

यहूदाका सहरहरू हर्षित हुन्छन्।

12 सियोनको चारैतिर हिँड, र यसको परिक्रमा गर;

यसका धरहराहरू गन,

13 यसको सुरक्षाको पर्खालहरूमाथि ध्यानसाथ हेर;

यसका किल्‍लाहरूमाथि दृष्‍टि लगाओ;

तब तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा

राम्ररी वर्णन गर्न सक्छौ।

14 किनकि यिनै परमेश्‍वर हाम्रा सदासर्वदाका परमेश्‍वर हुनुहुन्छ;

अनन्तसम्मै उहाँले हामीलाई अगुवाइ गर्नुहुनुहुनेछ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-