Publicidade

Salmos 34

अबीमेलेकको सामु बौलाहा हुँ भनी दावीदले बहाना गरेको र तिनीद्वारा उनलाई धपाइएको समयको दावीदको भजन।

1 हर समय म याहवेहलाई स्तुति गर्नेछु;

उहाँको प्रशंसा मेरो मुखमा निरन्तर हुनेछ।

2 याहवेहमा नै मेरो अन्तस्करणले गर्व गर्नेछ;

कष्‍टमा परेकाहरू यो सुनून्, र खुशी होऊन्।

3 मसँगसँगै याहवेहको महिमा गर;

हामी मिलेर उहाँको नामलाई उच्‍च पारौँ।

4 मैले याहवेहको खोजी गरेँ; र उहाँले मलाई जवाफ दिनुभयो,

उहाँले मेरा सबै डरहरूबाट मलाई छुटाउनुभयो।

5 उहाँलाई हेर्नेहरू उज्ज्वल हुन्छन्;

तिनीहरूका अनुहार कहिल्यै शर्ममा पर्दैन।

6 यस गरिब मानिसले याहवेहलाई पुकार गर्‍यो, र उहाँले त्यसलाई सुन्‍नुभयो;

उहाँले त्यसका सबै सङ्कष्‍टहरूबाट बचाउनुभयो।

7 याहवेहका स्वर्गदूतहरूले उहाँको डर मान्‍नेहरूका

चारैतिर सुरक्षाको घेरा लगाउँछन्,

र उहाँले तिनीहरूलाई छुटकारा दिनुहुन्छ।

8 याहवेहलाई जाँच गरेर हेर कि उहाँ कति असल हुनुहुन्छ!

धन्य हुन् तिनीहरू, जसले उहाँमा शरण लिन्छन्।

9 हे याहवेहका पवित्र जनहरू हो, उहाँको डर मान;

किनकि उहाँको डर मान्‍नेहरूलाई केही कुराको खाँचो पर्दैन।

10 जवान सिंहहरू कमजोर हुन सक्छन् र तिनीहरू भोकाउन सक्छन्;

तर याहवेहको खोजी गर्नेहरूलाई कुनै असल कुराको अभाव हुँदैन।

11 हे मेरा बालबालिकाहरू हो, आओ र मेरा कुरा सुन।

म तिमीहरूलाई याहवेहको भय सिकाउनेछु।

12 तिमीहरूमध्ये कसैले जीवनलाई प्रेम गर्दछ,

दीर्घायु र असल दिनहरू देख्ने इच्छा गर्दछ भने

13 आफ्नो जिब्रोलाई खराब कुरादेखि

र आफ्नो ओठलाई झूटो बोल्नदेखि अलग राख!

14 दुष्‍टताबाट अलग बस र भलाइ गर;

शान्ति खोज, र त्यसको पछि लाग।

15 याहवेहको नजर धर्मीहरूमाथि रहन्छ,

र उहाँका कान तिनीहरूका पुकार सुन्‍नलाई खुल्‍ला हुन्छन्।

16 तर याहवेहको अनुहार खराबी गर्नेहरूका विरुद्धमा हुन्छ,

अनि उहाँले तिनीहरूको स्मृतिसमेत धर्तीबाट मेटाइदिनुहुन्छ।

17 धर्मी जनहरूले पुकार गर्दछन्, याहवेहले तिनीहरूको पुकार सुन्‍नुहुन्छ;

तिनीहरूका सबै सङ्कष्‍टबाट तिनीहरूलाई उद्धार गर्नुहुन्छ।

18 याहवेह हृदय टुटेकाहरू सबैका नजिक हुनुहुन्छ,

र आत्मामा पिसिएकाहरूलाई उहाँले बचाउनुहुन्छ।

19 धर्मी मानिसलाई धेरै विपत्तिहरू आइलाग्दछन्,

तर याहवेहले त्यसलाई ती सबै विपत्तिबाट उद्धार गर्नुहुन्छ;

20 याहवेहले त्यसका सबै हाडहरूको रक्षा गर्नुहुन्छ;

तिनमा एउटै हाड पनि भाँचिनेछैन।

21 खराबीले दुष्‍टलाई मार्दछ;

धर्मी जनका शत्रुहरूचाहिँ दोषी ठहरिनेछन्।

22 याहवेहले आफ्ना सेवकहरूलाई उद्धार गर्नुहुन्छ;

उहाँमा शरण पर्ने कोही पनि दोषी ठहरिनेछैन।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-