Publicidade

Salmos 30

मन्दिर समर्पणको निम्ति गीत; दावीदको भजन।

1 हे याहवेह, म तपाईंलाई उच्‍च पार्नेछु;

किनकि तपाईंले मलाई गहिराइबाट माथि उचाल्नुभएको छ,

र मेरा शत्रुहरूलाई ममाथि विजय हुन दिनुभएको छैन।

2 हे याहवेह, मेरा परमेश्‍वर, मैले तपाईंलाई सहायताको निम्ति पुकारेँ,

र तपाईंले मलाई निको पार्नुभयो।

3 हे याहवेह, तपाईंले मलाई पातालबाट माथि निकालेर ल्याउनुभएको छ;

तपाईंले मलाई चिहानमा जानदेखि बचाउनुभएको छ।

4 हे याहवेहका पवित्र जनहरू हो, उहाँको स्तुति गाओ;

उहाँको पवित्र नामको स्तुति गर।

5 किनकि उहाँको क्रोध क्षणभरको निम्ति मात्र रहन्छ;

तर उहाँको कृपादृष्‍टि जीवनभरि नै रहन्छ;

रुवाइ रातभरि मात्र रहन्छ,

तर बिहान आनन्द आइहाल्छ।

6 जब मैले आफूलाई सुरक्षित पाएँ, तब मैले भनेँ,

"म कहिल्यै ढलपल हुनेछैनँ।"

7 हे याहवेह, जब तपाईंले ममाथि आफ्नो कृपादृष्‍टि राख्नुभयो,

तब तपाईंले मलाई पहाड समान स्थिर पार्नुभयो;

तर जब तपाईंले आफ्नो मुहार लुकाउनुभयो,

म निराश भएँ।

8 हे याहवेह, तपाईंलाई मैले पुकारेँ;

प्रभुलाई मैले दयाको निम्ति बिन्ती गरेँ;

9 "यदि मेरो विनाश भयो भने,

यदि म चिहानमा गएँ भने के लाभ हुन्छ र?

के धुलोले तपाईंको प्रशंसा गर्छ र?

के त्यसले तपाईंको विश्‍वसनीयताको घोषणा गर्छ र?

10 हे याहवेह, मेरो बिन्ती सुन्‍नुहोस् र ममाथि कृपालु हुनुहोस्;

हे याहवेह, तपाईं मेरो सहायक बन्‍नुहोस्।"

11 तपाईंले मेरो विलापलाई उल्‍लासमय नाचमा परिवर्तन गर्नुभयो;

तपाईंले मेरो शरीरबाट भाङ्ग्राको वस्त्र हटाइदिनुभयो

र आनन्दको वस्त्र पहिर्‍याइदिनुभयो,

12 ताकि मेरो हृदयले तपाईंको स्तुतिगान गरोस् र चुप नलागोस्।

हे याहवेह, मेरा परमेश्‍वर, म सदासर्वदा तपाईंलाई प्रशंसा चढाउनेछु।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-