Publicidade

Salmos 50

आसापको भजन।

1 याहवेह, सर्वशक्तिशाली परमेश्‍वर बोल्नुहुन्छ,

र पृथ्वीका मानिसहरूलाई

सूर्योदयदेखि सूर्यास्तसम्म बोलाउनुहुन्छ।

2 सुन्दरतामा सियोनबाट सिद्ध,

परमेश्‍वर प्रकाशमान् हुनुभएको छ।

3 हाम्रा परमेश्‍वर आउनुहुन्छ,

र शान्त बस्‍नुहुनेछैन;

उहाँको अगि भस्म पार्ने आगो छ,

र उहाँको चारैपट्टि ठूलो आँधीबेहरी छ।

4 आफ्ना मानिसहरूका न्याय गर्न

परमेश्‍वरले माथिको आकाश र तलको पृथ्वीलाई बोलाउनुहुन्छ:

5 "मेरा समर्पित मानिसहरू मकहाँ भेला गराओ,

जसले बलिद्वारा मसँग करार बाँधेका छन्।"

6 स्वर्गले उहाँको धार्मिकता घोषणा गर्छ;

किनकि उहाँ नै न्यायको परमेश्‍वर हुनुहुन्छ। सेला

7 "हे मेरा मानिसहरू हो, सुन, र म तिमीहरूसँग बोल्नेछु;

हे इस्राएल, म तेरो विरुद्धमा गवाही दिनेछु:

म परमेश्‍वर, तेरा परमेश्‍वर हुँ।

8 म तँलाई तेरो बलिदानहरूका बारेमा दोष दिन्‍नँ,

वा तेरो होमबलिहरूको बारेमा, जो सधैँ मेरो सामु छन्।

9 मलाई तेरो गोठबाट साँढेको,

वा तेरो खोरहरूबाट बोकाको आवश्यकता छैन;

10 किनकि सम्पूर्ण जङ्गली पशुहरू मेरै हुन्,

र हजारौँ डाँडाहरूका पशुप्राणी मेरै हुन्।

11 म पहाडहरूका हरेक पक्षीलाई चिन्दछु;

भूमिका सबै प्राणीहरू मेरै हुन्।

12 यदि म भोकै भए तापनि तँलाई भन्‍नेथिइनँ;

किनकि संसार मेरै हो, र त्यसमा भएका सबै थोक पनि मेरै हुन्।

13 के म साँढेहरूको मासु खान्छु?

अथवा बोकाहरूको रगत पिउँछु र?

14 "परमेश्‍वरको निम्ति धन्यवादको बलि चढा,

र सर्वोच्‍च परमेश्‍वरलाई गरेको तेरो भाकल पूरा गर्।

15 सङ्कष्‍टको दिनमा मलाई पुकार्;

म तँलाई छुटाउनेछु, र तैँले मलाई महिमा दिनेछस्।"

16 तर परमेश्‍वरले दुष्‍टलाई भन्‍नुहुन्छ:

"तैँले मेरो व्यवस्था पाठ गर्ने के हक छ?

अथवा मेरो करारको कुरा गर्ने के अधिकार छ?

17 मेरो शिक्षालाई तैँले घृणा गर्छस्,

र मेरा आज्ञाहरूलाई इन्कार गर्छस्।

18 जब चोरलाई देख्दा तँ चोरकै साथी बन्छस्;

व्यभिचारीहरूसँग सहभागी हुन्छस्।

19 तेरो मुख खराबी कुरा बोल्नलाई प्रयोग गर्छस्,

र तेरो जिब्रोलाई छली कुरा गर्नलाई चलाउँछस्।

20 तँ बस्छस्, र आफ्नै भाइको विरुद्धमा गवाही दिन्छस्;

तँ आफ्नै साक्खै भाइलाई दोष लगाउँछस्।

21 तैँले यी सबै कुराहरू गरिस्, र म चुप रहेँ;

तैँले मलाई पूर्णतया आफूजस्तै ठानिस्;

तर अब म तँलाई हप्काउनेछु,

र तेरै मुखको अगि तेरो दोष देखाउनेछु।

22 "हे परमेश्‍वरलाई बिसर्नेहरू हो, यो कुरा राम्ररी विचार गर;

नत्रता म तिमीहरूलाई टुक्रा-टुक्रा पार्नेछु,

र तिमीहरूलाई छुटाउने कोही पनि हुनेछैन:

23 धन्यवादको बलिदान चढाउनेहरूले नै मेरो आदर गर्दछन्,

जसले आफ्नो मार्ग सुधार्छ, म त्यसलाई परमेश्‍वरको मुक्ति देखाउनेछु।"

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-18_10-32-54-