Publicidade

Salmos 90

परमेश्‍वरका जन मोशाको प्रार्थना।

1 हे प्रभु, पुस्तौँ-पुस्तादेखि

तपाईं हाम्रा वासस्थान हुनुभएको छ।

2 पहाडहरू उत्पन्‍न हुनुभन्दा अगि,

अथवा तपाईंले पृथ्वी र संसारलाई अस्तित्वमा ल्याउन अगि,

अनादिदेखि अनन्तसम्म, तपाईं नै परमेश्‍वर हुनुहुन्छ।

3 तपाईंले यसो भनेर मानिसलाई पुनः धुलोमा फर्काउनुहुन्छ,

"ए मरणशील मानिस हो, धुलोमा फर्किजाओ!"

4 तपाईंको दृष्‍टिमा एक हजार वर्ष

अहिले बितिगएको एक दिनजस्तै,

अथवा रातको एक पहरजस्तै छ।

5 तापनि तपाईंले मानिसहरूलाई बाढीले लगेझैँ मृत्युको निद्रामा लैजानुहुन्छ—

तिनीहरू बिहान पलाउने नयाँ घाँसजस्तै छन्:

6 त्यो बिहान नयाँ भएर मौलाउँछ;

तर बेलुकी त्यो सुक्छ र ओइलाउँछ।

7 तपाईंको क्रोधले हामी नष्‍ट भएका छौँ,

र तपाईंको क्रोधले हामी भयभीत हुन्छौँ।

8 तपाईंले हाम्रा अधर्महरू तपाईंकै सामु राख्नुभएको छ,

हाम्रा गुप्‍त पापहरू तपाईंका उपस्थितिको प्रकाशमा छन्।

9 हाम्रा सारा दिनहरू तपाईंको क्रोधमुनि बित्दछन्;

हामी आफ्ना वर्षहरू विलापमा बिताउँछौँ।

10 हाम्रो आयु त सत्तरी वर्ष मात्र हो,

अथवा बलले साथ दियो भने, असीसम्म;

तापनि त्यसको उत्तम अवधि पनि कष्‍ट र शोकमा बित्छ;

किनकि आयुचाहिँ चाँडै बितिजान्छ, र हामी उडिजान्छौँ।

11 तपाईंको आक्रोशको शक्ति कसले बुझ्न सकेको छ र?

किनकि तपाईंको क्रोध तपाईंलाई दिनुपर्ने भय जत्तिकै ठूलो छ।

12 हामीलाई हाम्रा दिनहरू गन्‍न सिकाउनुहोस्,

ताकि हामीले बुद्धिको हृदय प्राप्‍त गर्न सकौँ!

13 हे याहवेह, दयालु बनिदिनुहोस्; कहिलेसम्म तपाईं ढिलो गर्नुहुन्छ?

आफ्ना सेवकहरूमाथि दया गर्नुहोस्!

14 हरेक बिहानले मेरो निम्ति तपाईंको अचुक प्रेमको वचन ल्याओस्,

र हामी सारा जीवनभरि रमाएर गीत गाउन सकौँ र खुशी हुन सकौँ।

15 जति दिन तपाईंले हामीलाई कष्‍ट दिनुभयो, र जति वर्ष दुःख भोग्यौँ,

त्यहीअनुसार हामीलाई खुशी तुल्याउनुहोस्!

16 तपाईंका कार्यहरू तपाईंका सेवकहरूलाई देखाइयोस्,

तपाईंको वैभव तिनीहरूका छोराछोरीकहाँ प्रकट होस्!

17 प्रभु हाम्रा परमेश्‍वरको निगाह हामीमाथि रहोस्;

हाम्रा हातका काम हाम्रा निम्ति सुदृढ पारिऊन्—

हो, हाम्रा हातका कामहरू सुदृढ पारिऊन्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-