Publicidade

Salmos 5

सङ्गीत निर्देशकको निम्ति बाँसुरीसहित गाइने, दावीदको भजन।

1 हे याहवेह, मेरा शब्दहरूमा कान लगाइदिनुहोस्;

मेरो सुस्केरामा ध्यान दिनुहोस्।

2 हे मेरा राजा, मेरा परमेश्‍वर,

सहायताको निम्ति मेरो पुकार सुनिदिनुहोस्;

किनकि तपाईंलाई म प्रार्थना गर्दछु।

3 हे याहवेह, बिहानै तपाईंले मेरो सोर सुन्‍नुहुन्छ;

सबेरै तपाईंको अगि मेरो बिन्ती राख्दछु,

र आशामा प्रतीक्षा गर्दछु।

4 तपाईं दुष्‍टतासँग प्रसन्‍न हुनुहुने परमेश्‍वर हुनुहुन्‍न;

दुष्‍ट मानिसहरू तपाईंसँग बास गर्न सक्दैनन्।

5 घमण्डी मानिसहरू तपाईंको सामु खडा हुन सक्दैनन्।

दुष्‍ट काम गर्नेहरू सबैलाई

तपाईं घृणा गर्नुहुन्छ।

6 झूटो बोल्नेहरूलाई तपाईंले नष्‍ट पार्नुहुन्छ;

रक्तपात गर्ने र छलीहरूलाई

तपाईं याहवेहले घृणा गर्नुहुन्छ।

7 तर मचाहिँ तपाईंको अचुक प्रेमद्वारा

तपाईंको भवनभित्र आउनेछु;

तपाईंको पवित्र मन्दिरतिर

म श्रद्धासाथ दण्डवत् गर्नेछु।

8 हे याहवेह, तपाईंको धार्मिकतामा मलाई डोर्‍याउनुहोस्;

मेरा शत्रुहरूका कारण,

तपाईंको मार्ग मेरो सामु सोझो पारिदिनुहोस्।

9 तिनीहरूका मुखका एउटै शब्दमा पनि सत्यता छैन;

तिनीहरूका हृदय विनाशले भरिएको छ।

तिनीहरूका घोक्रो खुल्‍ला चिहानजस्तै छ;

तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।

10 हे परमेश्‍वर, तिनीहरूलाई दोषी ठहराउनुहोस्;

तिनीहरूका आफ्नै जाल पतनको कारण होस्।

तिनीहरूका अनेक अपराधको कारण तिनीहरूलाई त्यागिदिनुहोस्;

किनकि तिनीहरूले तपाईंका विरुद्धमा विद्रोह गरेका छन्।

11 तर तपाईंमा शरण लिनेहरूचाहिँ खुशी होऊन्;

र तिनीहरू आनन्दले गीत गाऊन्।

तपाईंले नै तिनीहरूको रक्षा गर्नुहोस्;

र तपाईंको नामलाई प्रेम गर्नेहरू तपाईंमा आनन्दित होऊन्।

12 निश्‍चय नै, हे याहवेह, तपाईंले धर्मीहरूलाई आशिष् दिनुहुन्छ;

तपाईंले ढाललेझैँ, तपाईंको कृपादृष्‍टिले तिनीहरूलाई घेरिराख्नुहुन्छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-