Publicidade

Salmos 32

दावीदको मस्किल।

1 धन्य हो त्यो मानिस,

जसका अपराधहरू क्षमा भएका छन्;

जसका पापहरू ढाकिएका छन्।

2 त्यो मानिस धन्यको हो,

जसको पापको लेखा याहवेहले राख्नुहुन्‍न,

जसको मनमा कुनै छलकपट छैन।

3 जब म आफ्नो पाप स्वीकार नगरी मौन रहेँ,

तब मेरो दिनभरिको विलौनाले गर्दा

मेरा हाडहरू मक्‍किए।

4 किनकि दिनरात

तपाईंको बाहुलीको भार ममाथि रह्‍यो;

मेरो शरीरको शक्ति

गर्मीको तापलेझैँ सुकिगएको छ। सेला

5 तब मैले आफ्नो पाप तपाईंको सामु स्वीकार गरेँ,

र मेरो अधर्म लुकाइ राखिनँ।

मैले भनेँ, "म याहवेहको सामु

मेरो अपराधहरू स्वीकार गर्नेछु।"

र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो। सेला

6 यसकारण, जबसम्म तपाईंलाई भेट्न सकिन्छ,

सबै भक्तजनहरूले तपाईंमा प्रार्थना गरून्;

निश्‍चय नै उर्लेको डरलाग्दो भेलले

तिनीहरूलाई छुनेछैन।

7 तपाईं मेरो लुक्ने ठाउँ हुनुहुन्छ;

तपाईंले मलाई सङ्कष्‍टबाट रक्षा गर्नुहुन्छ;

तपाईंले मलाई उद्धारका गीतले चारैतिर घेर्नुहुन्छ। सेला

8 म तँलाई शिक्षा दिनेछु; र तँ कुन मार्गमा हिँड्नुपर्ने हो, सो तँलाई सिकाउनेछु;

म तँलाई सल्‍लाह दिनेछु, र तँमाथि मेरो नजर राख्नेछु।

9 घोडा वा खच्‍चरझैँ नहोऊ, जसको समझशक्ति हुँदैन,

जसलाई रोक्न लगाम

र डोकरी चाहिन्छ,

नत्रता तिनीहरू तेरो वशमा आउनेछैनन्।

10 दुष्‍टहरूले धेरै कष्‍ट भोग्छन्,

तर याहवेहमा भरोसा राख्नेहरूलाई

उहाँको अचुक प्रेमले चारैतिर घेर्दछ।

11 हे धर्मी जनहरू हो, याहवेहमा आनन्दित होओ र हर्ष मनाओ;

सोझो मन भएकाहरू हो, तिमीहरू सबैले आनन्दसाथ जयजयकार गर!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_06-50-08-