Publicidade

Salmos 16

दावीदको मिक्ताम।

1 हे मेरा परमेश्‍वर, मलाई रक्षा गर्नुहोस्;

किनकि मैले तपाईंमा शरण लिएको छु।

2 मैले याहवेहलाई भने, "तपाईं मेरा प्रभु हुनुहुन्छ;

तपाईंबाहेक मसँग अरू कुनै असल कुरो छैन।"

3 पृथ्वीमा भएका भक्तजनहरू चाहिँ,

"तिनीहरू नै आदर्श छन्; र तिनीहरूमा नै मेरो पूरा आनन्द छ।"

4 अरू देवताहरूको पछि लाग्नेहरूको दुःख बढ्दैजानेछ।

म ती देवताहरूलाई रक्तबलि चढाउनेछैनँ।

न त तिनीहरूका नाम मेरो ओठले उच्‍चारण गर्नेछ।

5 हे याहवेह, तपाईं नै मेरो हिस्सा र कचौरा हुनुहुन्छ;

तपाईंले नै मेरो भाग सुरक्षित राखिदिनुभएको छ।

6 सिमानाका रेखाहरू मेरो मनपर्ने ठाउँमा परेका छन्;

साँच्‍चै नै मलाई मनपर्ने पैतृक सम्पत्ति पाएको छु।

7 यसैकारण म याहवेहको प्रशंसा गर्दछु, जसले मलाई परामर्श दिनुहुन्छ;

रातमा पनि मेरो हृदयले मलाई निर्देशन दिन्छ।

8 म मेरो आँखा सधैँ याहवेहमा राख्दछु,

उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले, म डगमगाउनेछैनँ।

9 यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;

मेरो शरीरले पनि सुरक्षितसाथ विश्राम गर्नेछ।

10 किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन;

न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।

11 जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;

आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।

तपाईंको दाहिने बाहुलीमा अनन्तको आनन्द छ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-