Publicidade

Salmos 145

दावीदको प्रशंसाको भजन।

1 हे मेरा परमेश्‍वर, मेरा राजा, म तपाईंलाई उच्‍च पार्नेछु;

म सदासर्वदा तपाईंको नामको प्रशंसा गर्नेछु।

2 हरेक दिन म तपाईंको प्रशंसा गर्नेछु,

र सदासर्वदा तपाईंको नामको स्तुति गर्नेछु।

3 याहवेह महान् र प्रशंसाको अति योग्य हुनुहुन्छ;

उहाँको महानता अपार छ।

4 एक पुस्ताले अर्को पुस्तालाई तपाईंका महान् कामहरूको प्रशंसा गर्नेछन्;

तिनीहरूले तपाईंका शक्तिशाली कामहरूको वर्णन गर्नेछन्।

5 तिनीहरूले तपाईंका ऐश्‍वर्यको महिमामय वैभवको वर्णन गर्नेछन्—

र म तपाईंका आश्‍चर्यपूर्ण कार्यहरूमा मनन गर्नेछु।

6 मानिसहरूले तपाईंका अद्‌भुत कार्यहरूका शक्तिको विषयमा चर्चा गर्नेछन्—

र म तपाईंका महान् कार्यहरूको घोषणा गर्नेछु।

7 तिनीहरूले तपाईंको प्रशस्त भलाइको बारेमा उत्सव मनाउनेछन्,

र तपाईंको धार्मिकताबारे आनन्दले जयजयकार गर्नेछन्।

8 याहवेह अनुग्रही र कृपालु हुनुहुन्छ;

रिसाउनमा ढिलो र अचुक प्रेममा महान् हुनुहुन्छ।

9 याहवेह सबैमाथि भलो हुनुहुन्छ;

र आफ्ना सारा सृष्‍टिमाथि उहाँले कृपा देखाउनुहुन्छ।

10 हे याहवेह, तपाईंले सृष्‍टि गर्नुभएका सबै थोकले तपाईंको प्रशंसा गर्दछन्;

तपाईंका विश्‍वासयोग्य जनहरूले तपाईंको स्तुति गर्नेछन्।

11 तिनीहरूले तपाईंको राज्यको महिमाको वर्णन गर्नेछन्;

र तपाईंको शक्तिको बखान गर्नेछन्,

12 ताकि सबै मानिसहरूले तपाईंका शक्तिशाली कार्यहरू,

र तपाईंका राज्यको महिमामय वैभव थाहा पाऊन्।

13 तपाईंको राज्य अनन्तको राज्य हो,

र तपाईंको प्रभुत्व पुस्तौँ-पुस्तासम्म रहिरहन्छ।

आफ्ना सबै प्रतिज्ञामा याहवेह भरोसायोग्य हुनुहुन्छ,

र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ। का अन्तिम दुई हरफहरू पाइँदैनन्।

14 लडेकाहरू सबैलाई याहवेहले सहारा दिनुहुन्छ;

दबिएकाहरू सबैलाई उठाउनुहुन्छ।

15 सबैका आँखाहरूले तपाईंकै बाटो हेर्दछन्;

अनि तपाईंले तिनीहरूलाई उचित समयमा तिनीहरूको भोजन दिनुहुन्छ।

16 तपाईंले आफ्नो मुट्ठी खोल्नुहुन्छ,

र हरेक जीवित प्राणीका इच्छाहरूलाई तृप्‍त पार्नुहुन्छ।

17 याहवेह उहाँका सबै मार्गहरूमा धर्मी हुनुहुन्छ,

र उहाँले गर्नुहुने सबै थोकप्रति विश्‍वासयोग्य हुनुहुन्छ।

18 याहवेहलाई पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ,

उहाँलाई सत्यतामा पुकार्ने सबैको नजिक उहाँ हुनुहुन्छ।

19 उहाँको भय मान्‍नेहरूका इच्छालाई उहाँले पूरा गर्नुहुन्छ;

उहाँले तिनीहरूको पुकार सुन्‍नुहुन्छ र तिनीहरूलाई बचाउनुहुन्छ।

20 उहाँलाई प्रेम गर्ने सबैलाई याहवेहले रक्षा गर्नुहुन्छ;

तर सबै दुष्‍टहरूलाई उहाँले नाश पार्नुहुनेछ।

21 मेरो मुखले याहवेहको प्रशंसा गर्नेछ;

हरेक प्राणीले सदासर्वदा

उहाँको पवित्र नामको प्रशंसा गरून्!

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-