Publicidade

Salmos 21

सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।

1 हे याहवेह, तपाईंको सामर्थ्यमा राजा रमाउँछन्,

तपाईंले दिनुभएको विजयमा उहाँ अति धेरै आनन्दित छन्।

2 तपाईंले उनको हृदयका इच्छा पूरा गर्नुभएको छ,

र उनको ओठको बिन्ती इन्कार गर्नुभएको छैन। सेला

3 तपाईंले उनलाई उत्तम आशिष् लिएर स्वागत गर्नुभयो।

तपाईंले उनको शिरमा निखुर सुनको मुकुट पहिर्‍याइदिनुभयो।

4 उनले तपाईंबाट जीवन मागे, र तपाईंले उनलाई दिनुभयो

अर्थात्, उनलाई सदाकालको निम्ति लामो आयु दिनुभएको छ।

5 तपाईंले दिनुभएका विजयहरूद्वारा उनको आदर र महिमा बढेको छ;

तपाईंले उनलाई वैभव र ऐश्‍वर्य प्रदान गरिदिनुभएको छ।

6 निश्‍चय नै तपाईंले उनलाई अनन्त आशिष् प्रदान गर्नुभएको छ;

र तपाईंको उपस्थितिको आनन्दले उनलाई हर्षित तुल्याउनुभएको छ;

7 किनकि राजाले याहवेहमा भरोसा राख्दछन्;

सर्वोच्‍च परमेश्‍वरको अचुक प्रेमको कारण

उनी अटल रहनेछन्।

8 तपाईंका बाहुलीले आफ्ना सारा शत्रुहरूलाई हराउनुहुन्छ;

तपाईंको दाहिने बाहुलीले आफ्ना वैरीहरूलाई पक्रनुहुन्छ।

9 जब तपाईं प्रकट हुनुहुनेछ,

तपाईंले शत्रुहरूलाई दन्किरहेको आगोको भट्टीमाझैँ जलाउनुहुनेछ।

याहवेहले आफ्नो क्रोधमा तिनीहरूलाई निल्नुहुनेछ,

र उहाँको आगोले तिनीहरूलाई भस्म पारिदिनेछ।

10 तपाईंले तिनीहरूका सन्ततिलाई पृथ्वीबाट

र मानव-जातिको बीचबाट तिनीहरूका वंशलाई नष्‍ट पार्नुहुनेछ।

11 तिनीहरूले तपाईंको विरुद्धमा दुष्‍ट युक्ति रचे,

र दुष्‍ट योजना तयार गरे तापनि तिनीहरू सफल हुनेछैनन्।

12 किनकि जब तपाईं आफ्नो धनुषले तिनीहरूमाथि निशाना ताक्नुहुन्छ,

तपाईंले तिनीहरूलाई पिठिउँ फर्काएर भाग्न बाध्य बनाउनुहुनेछ।

13 हे याहवेह, आफ्नो शक्तिमा उच्‍च हुनुहोस्;

हामी तपाईंको सामर्थ्यको बारेमा गाउने र प्रशंसा गर्नेछौँ।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-15_21-32-39-