Publicidade

Salmos 27

दावीदको भजन।

1 याहवेह मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ;

मैले कसको भय मान्‍नु?

याहवेह नै मेरो जीवनको किल्‍ला हुनुहुन्छ;

म कोसँग भयभीत हुनु?

2 जब दुष्‍टहरू मलाई आक्रमण गर्न

मेरो विरुद्धमा अगि बढ्छन्,

जब मेरा शत्रुहरू र मेरा वैरीहरू ममाथि आइलाग्दछन्;

तब तिनीहरू ठक्‍कर खाएर लड्नेछन्।

3 सेनाले मेरो विरुद्धमा छाउनी बनाए तापनि

मेरो हृदय डराउनेछैनँ;

मेरो विरुद्धमा लडाइँ चले तापनि

त्यस बेलामा पनि म पूरा निर्धक्‍क रहनेछु।

4 याहवेहसँग म एउटै कुरा माग्दछु,

म त्यसैको मात्र खोजी गर्दछु:

कि म आजीवन याहवेहको भवनमा रहन पाऊँ,

उहाँको सुन्दरता हेर्न पाऊँ,

र याहवेहको भवनमा उहाँलाई खोजी गर्न पाऊँ।

5 किनकि सङ्कष्‍टका दिनमा

उहाँले मलाई उहाँको वासस्थानमा सुरक्षित राख्नुहुनेछ;

उहाँले आफ्नो पवित्र वासस्थानको छहारीमा मलाई लुकाउनुहुनेछ;

र एउटा चट्टानमाथि उच्‍च राख्नुहुनेछ।

6 तब मेरो वरिपरिका शत्रुहरूमाथि

मेरो शिर उच्‍च पारिनेछ;

उहाँको पवित्र वासस्थानमा म आनन्दको सोर सुनाउँदै बलिदान चढाउनेछु;

म भजन गाउनेछु, र याहवेहलाई प्रशंसा गर्नेछु।

7 हे याहवेह, जब म पुकार गर्छु, मेरो सोर सुन्‍नुहोस्;

ममाथि कृपालु हुनुहोस् र मलाई जवाफ दिनुहोस्।

8 मेरो हृदयले तपाईंको विषयमा भन्दछ, "उहाँको मुहारको खोजी गर्।"

हे याहवेह, म तपाईंको मुहारको खोजी गर्नेछु।

9 मबाट तपाईंको मुहार नलुकाउनुहोस्;

तपाईंको सेवकलाई क्रोधमा नहटाउनुहोस्;

तपाईं मेरा सहायक हुनुभएको छ।

हे परमेश्‍वर, मेरा मुक्तिदाता,

मलाई नत्याग्नुहोस्; मलाई तिरस्कार नगर्नुहोस्।

10 मेरा बुबाआमाले मलाई त्यागे तापनि

याहवेहले मलाई सम्हाल्नुहुनेछ।

11 हे याहवेह, मलाई तपाईंका मार्ग सिकाउनुहोस्;

र मलाई अत्याचार गर्ने मानिसहरूको कारण,

मलाई सोझो मार्गमा अगुवाइ गर्नुहोस्।

12 मेरा वैरीहरूका इच्छामा मलाई नछोडिदिनुहोस्;

किनकि मेरो विरुद्धमा झूटा साक्षीहरू खडा भएका छन्,

तिनीहरू खराब आरोप लगाउँछन्।

13 म यसमा अझ विश्‍वस्त छु:

म जीवितहरूको देशमा

याहवेहको भलाइ देख्नेछु।

14 याहवेहको प्रतीक्षा गर;

बलियो र हृदयमा साहसिलो होऊ;

र याहवेहको प्रतीक्षा गर।

Veja também

Publicidade
Bíblia Online Bíblia Online

Bíblia Online • Versão: 2026-06-16_18-40-07-